आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार सुपर ८ मा न्युजिल्यान्डले श्रीलंकाको सामना गर्दै छ । समूह ‘२’ मा श्रीलंका अंकविहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ । सुपर ८ को पहिलो खेल वर्षाका कारण नो रिजल्ट आएपछि न्युजिल्यान्डले पाकिस्तानसँग एक अंक बाँडेको थियो । श्रीलंका भने आफ्नो पहिलो खेलमै इंग्ल्यान्डबाट नराम्रोसँग पराजित भएको थियो । श्रीलंका र न्युजिल्यान्डलाई सेमिफाइनल आशा बलियो बनाउन जित आवश्यक छ । यो खेलमा पराजित हुने टोलीको शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्ने आशा लगभग समाप्त हुनेछ । श्रीलंकाले यसपटक घरेलु मैदानको फाइदा त्यति उठाउन सकेका छैनन् ।
पछिल्लो पाँच खेलमा श्रीलंकाले तीन जित तथा दुई हार सामना गरेको छ । न्युजिल्यान्डले पछिल्ला पाँच टी–२० आईमा तीन जित र एक हार सामना गरेको छ । कोलम्बोको प्रेमादासा रंगशालामा पहिलो ब्याटिङ गर्नेलाई सहज हुन सक्छ । दोस्रो इनिङ्समा यहाँ डयु फ्याक्टरले ब्याट्सम्यानलाई गाह्रो बनाउन सक्ने अनुमान गरिएको छ । यसैकारण, टस जित्ने टोलीले प्रेमादासा रंगशालामा पहिलो ब्याटिङ गर्ने सम्भावना छ । श्रीलंकाको ब्याटिङमा शीर्ष खेलाडीहरू कुशल मेन्डिस र पाथुम निशांका फर्ममा छन् । समूह चरणको खेलमा श्रीलंकाको जितमा उनीहरू चम्केका थिए ।
मेन्डिसले पछिल्लो १० टी–२० आई खेलमा ३२५ रन बनाएका छन् । उनको ब्याटिङ स्ट्राइक १३३.१९ रहेको छ । पाथुमले अस्ट्रेलियाविरुद्धको जितमा शतकीय इनिङ्स खेलेका थिए । बलिङमा श्रीलंकाको मुख्य आशा गरेको खलाडी महिश थिक्षणा र दुस्मान्थ चमिरा हुन् । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स र टिम सेफेर्टको ब्याटिङ निर्णायक बन्न सक्छ । ग्लेनले पछिल्ला १० टी–२० आईमा २९५ रन जोड्दा १६४.८ स्ट्राइक राखेका छन् । टिमले अन्तिम नौ टी–२० आईमा १६६ को स्ट्राइकमा २७६ रन जोडेका छन् ।
एकै खेलमा कीर्तिमानी ३१ छक्का
सुपर ८ अन्तर्गत समूह ‘१’ मा जिम्बावे र वेस्ट इन्डिजबिचको खेलमा कीर्तिमानले भरिए । वेस्ट इन्डिजले जिम्बावेमाथि १०७ रनको फराकिलो जित निकाल्यो । समग्रमा यो खेलमा कुल ३१ छक्का प्रहार भएका थिए । विश्वकपको इतिहासमा एकै खेलमा धेरै छक्का प्रहार भएको जिम्बावे र वेस्ट इन्डिजबिचको खेल रह्यो । वानखेडे रंगशालामा वेस्ट इन्डिजका ब्याट्सम्यान निकै आक्रामक देखिएका थिए । सन् २०१४ को विश्वकपमा नेदरल्यान्ड्स र आयरल्यान्डबिचको खेलमा कुल ३० छक्का प्रहार भएका थिए । यसैगरी, चालू विश्वकपमा इंग्ल्यान्ड र इटालीबिचको खेलमा २५ छक्का प्रहार भएको आइसिसीले जनाएको छ ।
विश्वपकमा सबैभन्दा कम बलमा अर्धशतकीय इनिङ्स खेल्ने रेकर्ड वेस्ट इन्डिजका सिमरोन हेटमेयरले जिम्बावेविरुद्ध लगाए । उनले केवल १९ बलमा अर्धशतक बनाएका थिए । यसअघि सन् २०१२ मा वेस्ट इन्डिजकै क्रिस गेलले अस्ट्रेलियाविरुद्ध २३ बलमा अर्धशतक बनाएका थिए । चालू विश्वकपमा सिमरोनले समग्रमा १७ छक्का लगाउँदै वेस्ट इन्डिजकै निकोलास पुरनको रेकर्ड बराबरी गरेका छन् । पुरनले सन् २०२४ को विश्वकपमा १७ छक्का प्रहार गरेका थिए । हेटमेयरले १०औँ ओभरमा १०८ मिटरको विशाल छक्का लगाएका थिए ।