नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष इलिट क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा नेपाल एपिएफमाथि नौ विकेटको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा एपिएफले ११३ रनको सहज लक्ष्य दिएको थियो । पुलिसले १६.४ ओभरमा एक विकेटको नोक्सानीमा ११३ रन जोड्दै जय ट्रफीमा पहिलो जित निकाल्यो । पुलिसका लागि अमित श्रेष्ठ र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । भुर्तेलले ५३ बलमा पाँच छक्का र चार चौका प्रहार गरी सर्वाधिक ७१ रन बनाए । अमितले २५ बलमा समान दुई चौका र छककाको सहयोगमा ३२ रनको जित निकाले ।
एपिएफले पहिलो इनिङ्समा १८५ रन तथा दोस्रो इनिङ्समा २०४ रन बनाएको थियो । पुलिसले पहिलो इनिङ्स २२७/७ को अवस्थामा समाप्त गरेको थियो । एपिएफविरुद्ध ललित राजवंशीले घातक बलिङ गरेका थिए । उनले पहिलो इनिङ्समा ८१ रन खर्चेर चार विकेट लिए । दोस्रो इनिङ्समा ललितले ८० रन दिँदै पाँच विकेट हात पारे । खेलमा उनी नै म्याच अफ दी म्याच भए ।
एपिएफका बोहरा शतक बनाउन चुके
रोहितकुमार पौडेलको कप्तानीमा रहेको एपिएफले दोस्रो इनिङ्स उत्कृष्ट बनाउन सकेन । स्पिनर ललित राजवंशीको कसिलो बलिङ स्पेलमा एपिएफका ब्याट्सम्यान खुलेर स्ट्रोक लगाउन सकेनन् । सो इनिङ्समा ओपनर दीपक बोहराले सर्वाधिक ९४ रनको योगदान दिएका थिए । उनी शतकीय इनिङ्स खेल्न ६ रनले चुके । उनले १२९ बलमा नौ चौका र तीन छक्का प्रहार गरे ।
ओपनर आसिफ सेखले २१ रन तथा सन्दीप जोराले ११ रन जोडे । मध्यक्रममा अमर रौउटेलाले ७७ बलमा ३२ रन तथा इर्साद अहमदले २० रनको योगदान दिएका थिए । पुलिसको पहिलो इनिङ्समा शंकर रानाले १०५ रनको शतकीय योगदान दिए । उनले १५५ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे । रसिद खानले ४४ बलमा ३० रन जोडे । दिल्साद अलीले ८७ बलमा सात चौका र एक छक्का प्रहार गरी ५८ रन जोडे ।
बागमतीसँग आर्मीले बराबरी खेल्यो
प्रतियोगिताअन्तर्गत मूलपानी मैदानमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबले ‘ड्र’ नतिजा निकालेका छन् । बागमतीले मंलबार आर्मीलाई ११८ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको इनिङ्समा आर्मीले चार विकेट गुमाएर ३९ रन जोडेपछि खेल ‘ड्र’ भएको हो । आर्मीले दोस्रो इनिङ्सको पाँचौँ ओभरमा तीन विकेट गुमाएको थियो । बागमतीका लेग स्पिनर तथा कप्तान सन्दीप लामिछानेले ४.३ ओभरमा भीमा सार्की, ४.४ ओभरमा विनोद भण्डारी तथा ४.६ ओभरमा कुशल मल्लको विकेट लिएका थिए । पाँच ओभरपछि खेल बराबरीको घोषणा भयो । प्रतिस्पर्धामा बागमतीका आयुष घिरैया म्यान अफ दी म्याच भए । उनले आर्मीविरुद्ध पहिलो इनिङ्समा ७७ रन तथा दोस्रो इनिङ्समा ७६ रनको योगदान दिएका थिए ।
बागमतीले पहिलो इनिङ्स २५९/७ र दोस्रो इनिङ्स २१०/३ को अवस्थामा समाप्त गरेको थियो । आर्मीले पहिलो इनिङ्स ३५२/७ को स्थितिमा समाप्त गरी ९३ रनको अग्रता लिएको थियो । दोस्रो इनिङ्समा बागमतीले तीन विकेट गुमाएर २१० रन जोड्दै ११८ रनको लक्ष्य दिएको थियो । बागमतीको पहिलो इनिङ्समा ईशान पाण्डेले ६९ रन तथा विवेक मगरले ३१ रनको योगदान दिए । बलिङमा आर्मीका सहाब आलमले तीन तथा नरेन साउदले दुई विकेट लिए ।
शीर्ष स्थानमा एपिएफ
आर्मीको पहिलो ब्याटिङमा भीम सार्कीले सर्वाधिक ७४ रनको योगदान दिए । यसैगरी सन्तोष कार्कीले ४३ रन, कप्तान विनोद भण्डारीले ४० रन तथा नरेश साउदले ५१ बलमा आठ छक्का र एक चौका प्रहार गरी ६६ जोडे । बागमतीको दोस्रो इनिङ्समा रित गौतमले ५६ रन तथा ईशान पाण्डेले ४१ रन जोडे । अंकतालिकामा एपिएफले दुई खेलमा समान एक जित र हार सामना गरी ३८ अंक बटुलेको छ । यसैगरी, नेपाल पुलिसले पनि समान एक जित र हार निकाली ३७.५ अंक जोडेको छ । आर्मीले दुई खेलमा एक जित र अर्कोमा नो रिजल्ट निकाली ३७ अंक जोड्यो । बागमती २६.५ अंकका साथ चौथो स्थानमा छ ।