चुनावको बिचमा तुलसीपुरमा बल्झियो ‘तरुण’को विवाद

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

चुनावको मुखमा कांग्रेसनिकट भातृ संगठन तरुण दलमा आन्तरिक विवाद चर्किएको छ। आ–आफ्नो समूहले चुनावमा फरक–फरक भेला र फरक–फरक जिम्मेवारी तोकेका छन्। खासगरी, तरुण दलका जिल्ला सभापति टीका घर्ती र नगर सभापति सुरेश हमालबिचको आन्तरिक द्वन्दको प्रभाव तरुण दलमा परेको देखिन्छ। माघ १३ गते नगर सभापति हमालनिकट कमल घर्तीले चुनावमा युवा परिचालन सम्बन्धमा युवाहरूबिच छलफल गरेर परिचालनसमेत गरे। जहाँ जिल्ला सभापति टीका घर्तीलाई आमन्त्रणसमेत गरिएको थिएन।

त्यसपछि जिल्ला सभापति घर्तीले नै ८ फागुनमा अर्को भेला गरे । तरुण युवाहरूलाई निर्वाचनमा खटिन आह्वान पनि गरे। तरुण दल तुलसीपुरमा दुई सभापति हुँदा निर्वाचनको समयमा पनि त्यसले प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको यही दुई गतिविधि उदाहरण हुन्।

त्यति मात्रै होइन, यही विषयलाई लिएर दुई समूहबिच हातपातको स्थितिसमेत सिर्जना भयो । तुलसीपुरको ‘द पार्क क्याफे’मा झन्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो। त्यसको केही समयमा जिल्ला सभापति घर्तीले जिबी जिएमलाई जिम्मेवारीसमेत तोके।

दुवै पक्षले आफूले आधिकारिकता दाबी गर्दै आएका छन्। जिल्ला सभापति घर्तीले तरुण दल भनेको संगठनको विधि विधानमा सञ्चालन हुने भन्दै हाल कार्यवाहक अध्यक्षका रूपमा सुरेन्द्रसिंह राठौर रहेको बताउँदै आएका छन्। 'पार्टीगत भ्रातृ संगठन भनेको केन्द्रदेखि वडा तहसम्मै संगठनकै विधान, मर्यादाअनुसार चल्छ,' उनले भने, 'कुनै तहको संगठन बनाउँदा त्यसमा संगठनकै माथिल्लो कमिटीसहितले निर्धारण गर्ने कुरा हो।' 

यता पार्टीको नगरले जिम्मेवारी तोकेका कमल घर्तीले तुलसीपुरको संगठन, तुलसीपुरकै पार्टीमातहत रहने भएकाले पार्टीले नै तोक्ने बताए। त्यसैले पनि आफू आधिकारिक रहेको कमलको  दाबी छ। 'यो नगर पार्टीभित्रको भ्रातृ संगठन हो,' उनले भने, 'त्यसैले पार्टीले तोक्न सक्छ।'

दुवै पक्षको यही विवादले नै तरुण दलमा पटक–पटक आधिकारिकताको विवाद हुने गर्छ। तरुण दलका तुलसीपुर सभापति प्रवीण केसी अमेरिका गएपछि सभापति पद रिक्त थियो। त्यही पदमा कांग्रेस दाङ र तुलसीपुरले कमल घर्तीलाई सभापति बनाए। त्यसपछि तरुण दलका जिल्ला सभापति टीका घर्तीले सुरेन्द्रसिंह राठौरलाई का.वा. सभापति बनाए। त्यसपछि तरुण दलमा विवाद सुरु भएको हो। त्यो विवाद चुनावको बिचमा पनि जारी छ। खासगरी तुलसीपुरमा गेहेन्द्र गिरी र दीपक गिरीबिच आन्तरिक द्वन्द हुने गर्छ। त्यसकै प्रभाव यसरी भ्रातृ संगठनहरूमा पनि देखिने गरेको छ। टीका घर्ती गेहेन्द्र गिरी पक्षका मानिन्छन्।

सुझावित समाचार