पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न जिल्लामा वर्षा, मेघगर्जन, चट्याङ तथा असिनापानी परेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा संखुवासभामा ३६.८ मिलिमिटर मापन भएको छ भने सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ। ताप्लेजुङ, पर्वत, रोल्पा, प्युठान, गोरखा, ललितपुर, नुवाकोटलगायत जिल्लामा पनि वर्षा भएको छ।
काठमाडौंको जरसिंहपौवा र नुवाकोटको ककनीमा असिनासहित वर्षा भएको जनाइएको छ।
विभागका अनुसार बुधबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।