हिमपातको जोखिमबिच पनि निर्वाचन सुनिश्चित

ताप्लेजुङका चार हिमाली केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी हुने

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङका हिमाली तथा दुर्गम बस्तीमा पनि फागुन २१ गतेको निर्वाचन नरोकिने गरी तयारी गरिएको छ । ताप्लेजुङका अति दुर्गम बस्तीहरू ओलाङचुङगोला, यांमा, घुन्सा र ग्याब्लाबाट मतपेटिकासमेत हेलिकोप्टरमार्फत ढुवानी गर्ने भएको छ । जिल्ला प्रशासन र निर्वाचनले हिमपात वा अन्य प्रतिकूल अवस्थाबिच पनि मतदान सम्पन्न गराउन सक्ने विकल्प तयार पारिएको बताएका छन् । 

जिल्ला सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले चार मतदान केन्द्रका मतपेटिका स्थलमार्गबाट ल्याउन कठिनाइ हुने देखिएकोले हेलिकोप्टरमार्फत ढुवानी गरिने जानकारी दिए । सम्बन्धित निकायलाई चार मतदान केन्द्रका मतपेटिका हेलिकाेप्टरमार्फत ढुवानी गर्न प्रस्ताव पेस गरेकोसमेत जानकारी दिए ।

हिमाली क्षेत्रका मतदान केन्द्रमा मौसम अचानक प्रतिकूल बने पनि मतदान प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्थापनमा जोड दिइएको प्रजिअ सेढाईंले जानकारी दिए । प्रधानमन्त्री सुशीला कार्कीको ताप्लेजुङ भ्रमणका क्रममा समेत जिल्ला सुरक्षा समितिले यिनै चार स्थानका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउनुपर्ने अवस्थाबारे जानकारी गराएको थियो ।

निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीका लागि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको पनि प्रशासनले स्पष्ट पारेको छ । कर्मचारीलाई मतदान गर्ने स्थानभन्दा बाहिर खटाउने प्रावधान रहेकाले खटाइएका जनशक्तिको विवरणमा आवश्यक परे संशोधन गरिने जनाइएको छ ।

अन्तर्क्रियामा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका प्रमुख धनराज श्रेष्ठले जिल्लामा भइरहेको तयारी र व्यवस्थापनबारे जानकारी गराउँदै अस्थायी मतदाताको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलालले जिल्लामा एक हजार ६८३ अस्थायी मतदाता रहेका छन् । एक हजार २१० पुरुष र ४६४ महिला छन् ।

अस्थायी मतदाताका लागि फुङलिङ नगरपालिका– ४ स्थित किराँतेश्वर मन्दिरपरिसर र जिल्ला कारागारपरिसर गरी दुई मतदानस्थल तोकिएका छन् ।  उनीहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेकोसमेत दुलालले जानकारी दिए । 

कार्यक्रममा आचारसंहिता अनुगमनमा खटिएका अधिकृतहरूले आचारसंहिताको पालन र उल्लंघनका अवस्थाबारे समेत जानकारी गराएका थिए । हिमाली दुर्गमतालाई ध्यानमा राखेर यातायात, सुरक्षा र मतपेटिका ढुवानीको वैकल्पिक संयन्त्र तयार पारिएकाले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने बताइएको छ । 
 

सुझावित समाचार