म्याग्दीमा निर्वाचन सामग्रीको व्यवस्थापन

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने काम सकिएको छ । निर्वाचन आयोगले पठाएको पतपत्र, स्वस्तिक छाप, छेकबारा, सुरक्षण सिललगायतका सामग्रीलाई मतदान केन्द्रअनुसार छुट्याएर प्याकिङ गरिएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार आयोगबाट प्राप्त निर्वाचन सामग्रीको रुजु गरेर जिल्लामा रहेका ८२ वटा मतदानस्थलका १२२ मतदान केन्द्रमा मतदाताको संख्याको आधारमा सामग्री व्यवस्थापन गरेर पठाउन तयारी अवस्थामा राखिएको छ । ‘जिल्लामा निर्वाचनको तयारीलाई तीव्र पारेका छौँ, मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने निर्वाचनसम्बन्धी कार्यक्रमहरूसमेत अघि बढेका छन्, अधिकांश मतदान केन्द्रको समेत अनुगमन भएको छ,’ उनले भने । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको विवरण संकलन र छनाेट तालिम दिइएको छ । कार्यालयले जिल्लामामा रहेका १२० स्थानीय दुई अस्थायी मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतको रूपमा खटिने कर्मचारीहरू छनाेट गरिसकेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । 
निर्वाचनमा बदरमत घटाउनका लागि जिल्लामा रहेका ४५ वटै वडामा स्वयंसेवक परिचालन गरी नमुना मतपत्रको प्रयोग गरी मतदान गर्ने र मतपत्र पट्याउने तरिकारबारे मतदाता शिक्षा सञ्चालन गरिएको छ । 

प्रतिनिधिसभामा १ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एकजना स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । आगामी निर्वाचनका लागि ८६ हजार ३९७ मतदाता कायम रहेका छन् । हरेक मतदान केन्द्रमा एक–एकजना मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी खटिनेछन् भने तीनजनाको दरले सहायक कर्मचारी खटिनेछन् । 

हरेक मतदान केन्द्रमा पाँच सयसम्म मतदाता भएमा दुईजना र पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा तीनजना स्वयंसेवक मतदान अधिकृतले खटाउनेछन् । मतदान केन्द्र र मतदानस्थलको सुरक्षा तथा मतमेटिकाको सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै सुरक्षाकर्मीहरूसमेत परिचालन हुनेछन् । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लामा नियुक्त गरिएका ८६१ जना निर्वाचन प्रहरीलाई घरपायक पर्ने इलाका तथा प्रहरी चौकीसँग समन्वय गरी सुरक्षाको जिम्मेवारीमा परिचालन गरिएको छ ।

निर्वाचनका समयमा खटिने सुरक्षाकर्मीसँगको समन्वयमा निर्वाचन प्रहरी परिचालन हुनेछन् । निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँग मिलेर मतदानस्थलको सुरक्षा, भयरहित वातावरण बनाउन सहयोग र मतपेटिकाको ढुवानीलगायतका काम गर्ने जिम्मेवारी दिइएको छ । 
 

सुझावित समाचार