- बढ्दै छ दुर्घटना, हुँदैन ‘रोड सेफ्टी अडिट’
- दुर्घटना रोक्न भन्दै सडक सुरक्षा परिषद् गठन गरेको ११ वर्ष भयो, तर कानुन नबन्दा अलपत्र
एक महिनामै तीनवटा बस दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ भने ६८ घाइते भएका छन् । आइतबार राति मात्र पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५, भैँसीगाैँडामा यात्रुबस त्रिशूली किनारमा खस्दा तीन विदेशीसहित १९ जनाको ज्यान गएको छ । २५ घाइते भएका छन् । यसअघि २७ माघमा रामेछापमा यात्रुवाहक बस दुर्घटनामा १४ जनाको मृत्यु र आठ घाइते भएकामा त्यसअघि २२ माघमा बैतडीमा जन्ती बोकेको गाडी दुर्घटनामा १३ को मृत्यु र ३५ घाइते भएका थिए । रामेछाप दुर्घटनामा परेका एक यात्रु अझै बेपत्ता छन् ।
यही अवधिमा अन्य दुर्घटना पनि भएका छन् । सोमबार मात्रै उदयपुरको कटारीबाट गाईघाट आउँदै गरेको गाडी मदन भण्डारी सडकमार्गस्थित अधोरी गोलाईमा
दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । त्यस्तै, १६ माघमा दाङबाट काठमाडौं आउँदै गरेको बस मुग्लिन–नारायणगढ खण्डमा दुर्घटना हुँदा ३८ यात्रु घाइते भएका थिए । दुर्घटनाको निरन्तरतामा आइतबार राति ठुलो मानवीय क्षतिसहित अर्को दुर्घटना थपियो । धादिङ प्रहरीका डिएसपी प्रकाश दाहालका अनुसार पोखराबाट काठमाडौं आउँदै गरेको ग.२ख १४२१ नम्बरको रात्रिबस त्रिशूली किनारमा खस्दा १७ जनाको घटनास्थलमै र थप दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । थप २५ घाइतेको उपचार भइरहेको छ । बसमा ४४ जना थिए ।
रातको समय भए पनि तत्काल उद्धारमा लाग्दा धेरै घाइतेलाई उद्धार गर्न सफल भएको डिएसपी दाहालले बताए । ‘राति सवा एक बजे दुर्घटनाको खबर पाएपछि उद्धारमा खटियौँ । सडकबाट खसेको बस नदीकिनारमा पुगेको थियो । अप्ठ्यारो ठाउँमा दुर्घटना भएकाले उद्धारमा निकै समस्या भयो,’ उनले भने, ‘घाइतेलाई घटनास्थलबाट सिधै माथि ल्याउन सम्भव थिएन । तीनवटा बोटको सहायताले उद्धार गरियो ।’ घटनास्थलको अवस्था हेर्दा ओभरस्पिडका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान लगाइए पनि थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए ।
सोमबार जिल्लाका सबै सुरक्षा निकायका प्रमुखसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, निर्वाचन प्रहरी र स्थानीयहरू उद्धारमा खटिएका थिए । देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ६८ भन्दा धेरै जिल्लालाई संघीय राजधानीसँग जोड्ने मुख्य मार्ग हो । यो खण्डमा हरेक वर्ष ठुला दुर्घटना भइरहेको छ । डिएसपी दाहालका अनुसार दुर्घटनामा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– ४ का ३० वर्षीय इन्जिनियर ठकुरी, पोखरा महानगरपालिकाका– ३ का ४० वर्षीय विवेक बाँस्तोला, स्याङ्जाको वालिङ नगरपालिका– १४ का ६३ वर्षीय चन्द्रबहादुर कुँवर, स्याङ्जाकै पुतलीबजार नगरपालिका– ६ का ४५ वर्षीय धनश्याम सुवेदी, तनहुँको व्यास गाउँपालिका– ४ का ४० वर्षीय ओमकुमार मल्ल, काठमाडौं महानगरपालिका– ६ बौद्ध टुसालका ४२ वर्षीय लोप्साङ गोले, काठमाडौं– ३२ बुद्धनगरकी ३३ वर्षीया अनिशा महर्जन र पाल्पा तानसेन नगरपालिका– २ का ५५ वर्षीय नवीन्द्र श्रेष्ठको मृत्यु भएको छ । त्यस्तै, तनहुँको शुक्लागण्डकी गाउँपालिका– ७ की ५५ वर्षीया विष्णुमाया ढकाल, शुक्लागण्डकी– ७ का ६३ वर्षीय रुद्रप्रसाद ढकाल, वडा नं. २ की २० वर्षीया अर्चना पौडेल र तनहुँकै भीमाद नगरपालिका– ६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको पनि मृत्यु भएको छ ।
अन्य मृतकमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ३ का २१ वर्षीय रोहित नेपाली, पोखरा महानगरपालिका– १४ की २१ वर्षीया अञ्जली क्षेत्री, सोही पालिका वडा नं. १९ का २६ वर्षीय सुजित नेपाली र मोरङ उर्लाबारी– १ की २७ वर्षीया हिरा चौधरी छन् । त्यस्तै, ज्यान गुमाएका तीन विदेशी नागरिकहरू बेलायती २४ वर्षीय स्टेवार्ट डोमिनिक इथान, चिनियाँ ४० वर्षीय चाङ चुङचङ र भारतीय ३२ वर्षीय मनीष शुक्ला छन् ।
त्यस्तै, दुर्घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव ऋषिराम तिवारीको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनियाँ, सडक विभागका सिडिई राकेश महर्जन र मन्त्रालयका उपसचिव वर्तमान पौडेल सदस्यसचिव छन् । समितिलाई एक साताको समय दिइएको मन्त्रालयका सहायक प्रवक्ता रमा आचार्यले जानकारी दिइन् । दुर्घटनाको कारण पत्तालगाई दीर्घकालीन समाधानको उपाय सुझाउन समितिलाई जिम्मेवारी दिइएको छ ।
घाइतेको बयान– चालकले तीव्र गतिमा हाँकिरहेका थिए, यात्रुसँग गफमा मस्त थिए
तनहुँका मनबहादुर मगर वैदेशिक रोजगारीमा जानका लागि आइतबार राति पोखराबाट आउँदै गरेको बस चढे । सोमबार बिहान ९ बजे नै कुवेतको फ्लाइट थियो । उनका अनुसार बस खचाखच थियो, तर आफूले अग्रिम टिकट लिएकाले सिट सुरक्षित थियो । बस दुर्घटना हुँदा उनी निदाइसकेका रहेछन् ।‘मुग्लिननजिकै खाना खाइसकेपछि अधिकांश यात्रुहरू निदाउन थालेका थिए, म पनि निदाउने र व्युँझने गरिरहेको थिएँ,’ उनले भने, ‘बस बेस्सरी ठोक्किएको आवाज आएपछि झल्याँस्स भएँ । बसका पार्टपुर्जा र सिट एक्कासि छरिएको देखेँ । आफू कहिले यता, कहिले उता ठोक्किएँ । अरूको पनि अवस्था त्यस्तै थियो । धन्न बसमुनि परिनँ र ज्यान बच्यो ।’
उछिट्टिएर बगरमा पछारिएका मनबहादुर आफूले नै प्रहरीलाई फोन गरेर दुर्घटनाबारे जानकारी गराएको बताउँछन् । तर, त्यसको एक घण्टापछि मात्रै प्रहरी आइपुगेको उनको भनाइ छ । याङ्जी शेर्पा र उनका श्रीमान् लोप्साङ लामा चालकको ठिक पछाडिका दुई सिटमा बसेका थिए । काठमाडौंको बौद्धमा बस्ने उनीहरू पोखरा घुमेर फर्किँदै थिए । याङ्जीले दुर्घटनामा श्रीमान् गुमाइन् । याङ्जीका अनुसार मुग्लिन कटेपछि बसको गति निकै तीव्र थियो, चालक अगाडि बसेका अन्य यात्रुसँग गफमा मस्त थिए । बसको गतिले आफ्नो मनमा ढुकढुकी बढ्दाबढ्दै दुर्घटना भएको उनले बताइन् ।
‘चालकले तीव्र गतिमा बस हाँकिरहेका थिए, अन्य यात्रुतिर हेर्दै गफमा मस्त थिए । मलाई छटपटी भयो । एकपटक चालकलाई सम्झाउँछु भनेर श्रीमान्सँग सल्लाह पनि गरेँ । तर, उहाँले छाडिदेऊ भन्नुभयो । केहीबेरमा यत्रो दुर्घटना भयो, श्रीमान् नै गुमाउनुप¥यो,’ ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा उपचाररत उनले भनिन् । आफू सामान्य घाइते मात्रै भएकी याङ्जीले बगरभन्दा केही माथि छटपटाइरहेको श्रीमान्लाई देखिन् । नजिक गइन्, सिपिआर दिइन् । करिब एक घण्टाजति श्रीमान्ले सास फेरिरहेका थिए । तर, उद्धार नभएपछि उनी बगरमै अस्ताएको याङ्जीले बताइन् । उद्धारमा भएको ढिलाइका कारण धेरै घाइतेले ज्यान गुमाएको उनको भनाइ छ । याङ्जीका दुई छोरा अमेरिकामा छन् ।
तनहुँका सोमकुमार मल्लका बाबु–छोरा पनि बसका यात्रु थिए । छोरा सुविनलाई विदेश पठाउने प्रक्रिया मिलाउन उनीहरू काठमाडौं आउँदै थिए । मस्त निद्रामा रहेका सोमकुमार ब्युँझिँदा त्रिशूलीको बगरमा चोटैचोट लागेको हालतमा पुगिसकेका थिए । अरू पनि आफ्ना वरिपरि छरिएका देखे, कोही भिरमा अड्किएका थिए । घाइते छोरालाई पनि केही पर देखे ।
‘बस कसरी खस्यो थाहा पाइनँ, सिधै बगरमा पुगेपछि म ब्युँझिएँ । बसको सिटले थिचिरहेको थियो, जसोतसो निस्किएर बगरमा धेरैबेर बसेँ,’ ट्रमा सेन्टरमा उपचाररत उनले भने, ‘मेरो टाउकोमा चोट लागेको छ, छोरालाई पनि टाउको र हातमा चोट लागेको छ । सुविनको भने कलंकीको नेसनल अस्पतालमा उपचार भइरहेको छ । पोखराबाटै बस चढेका सलिना परियार र सदीक्षा हमालको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरू अन्तिम सिटमा बसेका थिए । खाना खाइसकेपछि निदाएका उनीहरूले दुर्घटना भएको बगरमा खसेपछि मात्रै थाहा पाएको बताए ।
घाइतेको अवस्था छुट्याएर उपचार
दुर्घटनामा घाइते भएकाहरूको उद्धारपछि सुरुमा धादिङकै नेसनल प्राथमिक अस्पतालमा उपचार गराइएको थियो । अवस्था हेरेर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो । १५ घाइतेलाई ट्रमा सेन्टरमा रेफर गरिएकोमा गम्भीर अवस्थाका घनश्याम सुवेदीको बाटैमा ज्यान गएको थियो । अन्य १४ घाइतेमध्ये चिनियाँ नागरिक निस्सी हाउ, पूजा फुयाँल, नर्वो कल्देन, स्वर्णिमा खत्री, मनबहादुर थापा, प्रदीप लामिछाने, सोमकुमार मल्ल, सलिना परियार, सदीक्षा हमाल, कृतिराज मानन्धर र याङ्जी शेर्पाको अवस्था सामान्य छ । विवेक मानन्धर उपचारपछि डिस्चार्ज भएका छन् भने सुकुमाया श्रेष्ठको आइसियूमा उपचार भइरहेको छ । अस्पतालले बिरामीको अवस्था मूल्यांकन गरेर उपचार गरेको जनाएको छ ।
नातिको रेखदेख गर्न काठमाडौं हिँडेका दम्पतीको दुःखान्त
तनहुँको शुक्लागण्डकी नगरपालिका– ७, कुम्लेखोला स्वाँराटोलका ६० वर्षीय रुद्रप्रसाद ढकाल र उनकी पत्नी ५५ वर्षीया विष्णुमाया नातिको हेरचाहका लागि भनेर काठमाडौं हिँडेका थिए । तर, दुर्घटनामा परेका उनीहरू बाटैमा अस्ताए ।छोरा वैदेशिक रोजगारीमा रहेका ढकाल दम्पतीका बुहारी र नाति काठमाडौंमा बस्थे । बुहारी जागिरे भएका कारण नातिको रेखदेख गर्न उनीहरू काठमाडौं आउँदै थिए ।
‘बुहारी जागिरमा जानुपर्ने भएकाले नातिको हेरचाह गर्न सानीआमा काठमाडौं जानुपर्ने भयो । साँझ एक्लै के पठाउने भनेर सानीआमालाई पुर्याउन सानोबुबा पनि जानुभयो । तर, काठमाडौं नपुग्दै बस बाटोमै दुर्घटना दुवैजना गुमाउनुपर्यो,’ विष्णुमायाका दिदीका छोरा दीपक पौडेलले भने । ढकाल दम्पतीको मृत्युपछि स्वाँराटोल शोकमा डुबेको छ । वडाध्यक्ष खड्कसिंह थापाका अनुसार ढकाल शिव पञ्चायन निर्माण समितिका अध्यक्ष पनि थिए । समितिले मन्दिर निर्माणको काम गरिरहेको थियो ।
घाइतेको बयान– चालकले तीव्र गतिमा हाँकिरहेका थिए, यात्रुसँग गफमा मस्त थिए
याङ्जी शेर्पा र उनका श्रीमान् लोप्साङ लामा चालकको ठिक पछाडिका दुई सिटमा बसेका थिए । काठमाडौंको बौद्धमा बस्ने उनीहरू पोखरा घुमेर फर्किँदै थिए । याङ्जीले दुर्घटनामा श्रीमान् गुमाइन् । याङ्जीका अनुसार मुग्लिन कटेपछि बसको गति निकै तीव्र थियो, चालक अगाडि बसेका अन्य यात्रुसँग गफमा मस्त थिए । बसको गतिले आफ्नो मनमा ढुकढुकी बढ्दाबढ्दै दुर्घटना भएको उनले बताइन् । ‘चालकले तीव्र गतिमा बस हाँकिरहेका थिए, अन्य यात्रुतिर हेर्दै गफमा मस्त थिए । मलाई छटपटी भयो । एकपटक चालकलाई सम्झाउँछु भनेर श्रीमान्सँग सल्लाह पनि गरेँ । तर, उहाँले छाडिदेऊ भन्नुभयो । केहीबेरमा यत्रो दुर्घटना भयो, श्रीमान् नै गुमाउनुपर्यो,’ ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा उपचाररत उनले भनिन् ।
उद्धारकर्ता अरुण थपलिया भन्छन्– उद्धार सामग्री अभावका कारण धेरैको ज्यान गयो
दुर्घटनाग्रस्त बसले च्यापिएका ललितपुर इमाडोलका २७ वर्षीय कृष्णराज मानन्धरको पाँच घण्टापछि जीवितै उद्धार भयो । मानन्धरलाई दुर्घटनाग्रस्त गाडीले च्यापिएको अवस्थामा उद्धार गरिएको उद्धारकर्ता अरुण थपलियाले बताए । थपलियाका अनुसार उनको खुट्टा मात्रै च्यापिएकाले फलामहरू काटेर जीवितै उद्धार भएको हो ।
थपलियाले उद्धार सामग्रीको अभावका कारण धेरैको ज्यान गएको पनि बताए । ‘दुर्घटनाग्रस्त बस भताभुंग थियो, पार्टपुर्जाहरू यत्रतत्र छरिएका थिए । यात्रु कोही त्रिशूलीमा, कोही किनारमा त कतिपय भिरमा लडिरहेका थिए । कैयौँ घाइते उद्धारका लागि सहयोग मागिरहेका थिए । तर, अप्ठ्यारो ठाउँमा रातिको समयमा उद्धार गर्न पर्याप्त सामग्री नै भएन,’ थपलियाले भने, ‘भिरमा रातिको समयमा न माथिबाट झर्ने ठाउँ, न यता र उताबाट घटनास्थल पुग्ने ठाउँ थियो । पर्याप्त उद्धार सामग्री भएको भए धेरैलाई बचाउन सकिन्थ्यो भन्ने लाग्छ । सीमित सामग्रीबाट पनि धेरैको उद्धार गरियो ।’
थपलिया र्याफ्टिङ व्यवसायी तथा गाइड हुन् । सुतिरहेका उनलाई छिमेकीले खबर गरेपछि घटनास्थल पुगेका थिए । फोर्स लाइट, हाइड्रोलिक कटर, चेन पुल्लीलगायत उद्धारका सामग्री नहुँदा घटनास्थल पुग्न समय लागेको उनले बताए । राति बोट बोकेर भिरभिरै बस खसेको ठाउँमा पुगेको उनले सुनाए । धादिङका सिडिओ विजयराज सुवेदीले पनि उद्धारका क्रममा फोर्स लाइट, भिरमा दुर्घटना भएकाले उद्धारका लागि डोरी, क्रेनलगायत सामग्रीको अभाव खड्किएको स्वीकार गरे ।