उदयपुरको कटारी– ८ मा खेताला स्वयंसेविकाद्वारा मतदाता शिक्षा

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका– ८ मा खेताला स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गरिएको पाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा दिन खटिएकी स्वयंसेविका दिलकुमारी राउत मगरले खेताला प्रयोग गरेर मतदाता शिक्षा दिएको पाइएको हो ।

कटारी नगरपालिका– ८ का पूर्ववडध्यक्ष कमल श्रेष्ठका अनुसार मतदाता शिक्षाका लागि खटिएकी दिलकुमारी राउत मगरले नातामा भाइबुहारी पर्ने, गैरसरकारी संस्थामा आबद्ध मेनुका श्रेष्ठमार्फत मतदाता शिक्षा सञ्चालन गरेको पत्ता लागेपछि नगरपालिकाको कार्यालयलाई खबर गरेकाे बताए । उनले भने, ‘त्यसपछि नगरपालिकाका सूचना अधिकारी गोविन्द खड्काले गल्ती भएको भए तत्काल सच्याइने बताउनुभएको छ ।’

यता नगरपालिकाका मतदाता शिक्षाका फोकल पर्सन सूचना अधिकारी गोविन्द खड्काले आइतबार थलिया र कोल्बोट गाउँमा दिलकुमारी स्वयं उपस्थित नभई अर्कै व्यक्तिमार्फत मतदाता शिक्षा दिएको पाइएकाले उनलाई सचेत गराइएको
बताए । उनले भने, ‘स्थानीयहरूबाट पनि गुनासो आयो। पूर्ववडाध्यक्षले पनि जानकारी दिनुभयो। त्यसपछि हामीले उहाँ (दिलकुमारी)लाई सोमबारदेखि यस्तो गल्ती नगर्न सुझाव दिएका छौँ ।’

उनका अनुसार कटारी नगरपालिकाका १४ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको छ । ‘सबै स्वयंसेविकालाई समूह च्याटमार्फत आफैँ उपस्थित भई मतदाता शिक्षा दिएको फोटो तथा भिडियो पठाउन निर्देशन दिएका छौँ,’  उनले थपे ।

यसैबिच, उदयपुरका अन्य पालिकाहरूमा पनि मतदाता शिक्षाका लागि खटिएका स्वयंसेविकाहरू मतदातासमक्ष नपुगेको जनगुनासो बढ्दै गएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी डिगम कार्कीले जिल्लाका आठवटै पालिकाका ७५ वटै वडामा मतदाता शिक्षा सञ्चालन भइरहेको जानकारी दिए। उनले भने, ‘आगामी फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुन्छ। त्यस अवधिमा सबै स्थानमा पुग्ने गरी स्थानीय पालिकासँग समन्वय गरेर स्वयंसेविकाहरू परिचालन गरेका छौँ ।’

उनले कटारी नगरपालिका– ८ मा खेताला प्रयोग गरी मतदाता शिक्षा दिने स्वयंसेविकालाई सचेत गराइसकिएको पनि जानकारी दिए । यता दिलकुमारीले पनि आफू जान नभ्याएकाले बुहारीकाे सहयाेग मागेकाे पाइएकाे कार्कीकाे भनाइ छ ।
 

सुझावित समाचार