राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग.१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे बेनीघाट रोराङ गाउँपालिका– भैँसेगौँडामा दुर्घटनामा परेको थियो। दुर्घटनापछि बस त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनामा ज्यान गुमाएका सबैप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना गरेको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको शोक विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको विज्ञप्तिमा उल्लेख छ।
दुर्घटनापछि उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।