सामाजिक सद्भाव बिथोल्ने गरी झडप र तोडफोड भएपछि रौतहट सदरमुकाम गौरमा शनिबारदेखि जारी कफ्र्युका विषयमा सोमबार बिहान निर्णय हुने भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार कर्फ्युबारे निर्णय लिनुपूर्व गौर नगरपालिका– ६, सबगढामा बिहान साढे सात बजे सद्भाव र्याली आयोजना हुनेछ । ‘आइतबारको सर्वपक्षीय बैठकको पाँचबुँदे निर्णयअनुसार सद्भाव र्याली हुन्छ । र्यालीमा जनसहभागिता र त्यसअवधिसम्मको सुरक्षाको विश्लेषण गरेर कफ्र्युका विषयमा निर्णय हुन्छ,’ उनले भने, ‘शान्तिसुरक्षा कायम गर्न कर्फ्यु लगाउनुपरेको हो, हामी धेरै नलम्बियोस् भन्ने पक्षमा छौँ ।’
कफ्र्युका कारण आइतबार गौरमा अदालतसहित सरकारी सेवा ठप्प रह्यो भने उद्योग, कलकारखाना र बजार बन्द थियो । गौरमा शनिबार दिउँसो १ बजेदेखि कफ्र्यु छ, आइतबार बिहान साढे दुई घण्टा खुकुलो पारिए पनि त्यसपछि कडाइ गरिएको थियो । आइतबार दिउँसो बसेको सर्वपक्षीय बैठकले पाँचबुँदे सहमति गर्नुका साथै सबै मिलेर सौहार्दपूर्ण वातावरण कायम गर्दै आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्न अपिल गरिसकेको छ । सर्वपक्षीय बैठकपछि प्रशासनले गौर नगरपालिका–७, सबगढाका स्थानीय र जनप्रतिनिधिसँग छलफल पनि गरेको छ ।
‘दुवै पक्षसँग छलफल गरेका छौँ । बाहिरबाट पनि मान्छे आएर गाउँमा आगो लाग्यो, घर भत्काए, यसले क्षतिले गाउँलाई नै भयो नि भनेर सम्झाएका छौँ । गाउँमा सबै मिलेर जानुपर्छ भनेर उहाँहरूले पनि महसुस गर्नुभएको छ,’ प्रमुख जिल्ला अधिकारी भुसालले भने । भुसालले सद्भाव कायम गर्ने गरी प्रशासनले सहमति गराएको तर, उछृंखल गतिविधिमा संलग्नमाथि भने कानुनी कारबाही हुने बताए । ‘२३ जना पक्राउ परेका छन् । प्रहरीले सोधपुछ गरिरहेको छ । कानुन हातमा लिनेमाथि मुद्दा चल्छ,’ उनले भने ।
गत बिहीबार राति पौने १० बजेतिर स्थानीय सत्यनारायण साहको छोरीको विवाहको जन्ती बोधिमाई नगरपालिका– ९, सरमुजवाबाट गौर– ६, सबगढातर्फ मस्जिदको बाटो हुँदै बाजा बजाउँदै जानेक्रममा स्थानीय दुई समुदायबिच विवाद भएको थियो । त्यति वेलै ढुंगा हानाहान हुँदा ६ जना घाइते भएका थिए ।भोलिपल्ट शुक्रबार दिनभर पनि झडप भएपछि प्रशासनले दुवै पक्षलाई राखेर ६ बुँदे सहमति गराएको थियो । तर, शनिबार पनि बिहानैबाट पुनः झडप निम्तिएपछि प्रशासनले कर्फ्यु लगाएको थियोे ।
सर्वपक्षीय बैठकका पाँच निर्णय
१. शान्तिपूर्ण वातावरण कायम गर्न सरोकारवाला सबै पक्षले सार्वजनिक अपिल जारी गर्ने
२. सबगढा गाउँमा भएको विवाद समाधान गर्न जिल्ला सुरक्षा समितिले औपचारिक, अनौपचारिक छलफल वा बैठक गरी समस्या समाधानका लागि पहल गर्ने
३. अन्तर्राष्ट्रिय रूपमा घटेका घटनालाई रौतहटभित्रको घटना भएको भनी विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा अनर्गल रूपमा प्रचारप्रसार गरी शान्तिपूर्ण अवस्थामा खलल पुग्ने अवस्था देखिएमा आवश्यक कारबाही गर्ने कार्यमा सुरक्षा निकायलाई सहयोग गर्ने
४. घटनामा पक्राउ परेका व्यक्तिका सम्बन्धमा सुरक्षा निकायको अनुसन्धानबाट दोषी देखिएमा र अनुसन्धान हुँदै जाँदा दोषी अन्य व्यक्तिसमेतलाई कानुनी दायरामा ल्याई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गर्ने
५. रौतहटभर धार्मिक, सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्ने तथा सार्वजनिक शान्ति कायम गर्न र धार्मिक–सामाजिक–सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने उद्देश्यले सोमबार बिहान साढे सात बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैको सहभागिता गराई सबगढामा सद्भाव ¥याली गर्ने