निर्वाचनका लागि आवश्यक पर्ने सामग्री जिल्ला आइपुगेसँगै निर्वाचन कार्यालय सल्यानले त्यसको व्यवस्थापनको काम सुरु गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित सल्यानमा आवश्यक मतपत्र तथा बन्दोबस्ती सामग्रीको तयारी धमाधम भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्लामा आइपुगेका छन् भने व्यवस्थापनको काम पनि तीव्र गतिमा अघि बढाइएको छ । मतदानस्थलमा आवश्यक सामग्री व्यवस्थापन तथा समन्वयको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था, सामग्री ढुवानी तथा प्राविधिक तयारीलाई विशेष प्राथमिकता दिइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले मतपत्र प्याकेजिङ कार्य सुरु गरिसकेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीको जिम्मेवारी निर्धारण गरिसकिएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक तालिमका लागि मितिसमेत निर्धारण भइसकेको उनले जानकारी दिए।
निर्वाचन नजिकिँदै जाँदा मतदान केन्द्रको अनुगमनलाई समेत जोड दिइएको कर्यालयले जनाएको छ। ११७ मतदानस्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएको सल्यानमा ४३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता र विगतका निर्वाचन अनुभवलाई आधार मानेर ती क्षेत्रलाई अतिसंवेदनशील श्रेणीमा राखिएको हो।
जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले संयुक्त रूपमा ती मतदानस्थलको स्थलगत निरीक्षण गरी सुरक्षा अवस्था, पहुँचमार्ग, सञ्चार सुविधा तथा आपतकालीन व्यवस्थापनको अवस्थाबारे अध्ययन गरिसकेको योगीको भनाइ छ।
सल्यानमा एक लाख ६२ हजार ४४९ मतदाता छन्। प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।