सिन्धुपाल्चोकको विकट हिमाली गाउँ गोल्चेमा दुई सय वर्ष पुरानो धारा गोल्चेवादीको जीर्णोद्धार गरिएको छ । जुगल गाउँपालिका– २ को गोल्चेमा रहेको यो धारा चार सय घरधुरीको पुर्ख्यौली पानीको मुहान हो ।
गाउँको बिचमा रहेको गोल्चेवादी धारा यहाँको एउटा पहिचान हो । जुगल गाउँपालिकाबाट पाँच लाख र बागमती प्रदेशबाट ६ लाख रुपैयाँ विनियोजन भएपछि धाराको जीर्णोद्धार गरिएको छ । मुहानमा मूलको पानी जम्मा गर्ने ट्यांकी निर्माण गरिएको छ । पुर्खौँदेखि रहेको पुरानो एउटा धारालाई राखेर अन्य चारवटा धारा थपिएको छ । हिउँद–बर्खा दुवै याममा मूलको पानी उत्तिकै परिमाणमा बग्छ ।
नयाँ ट्यांकी र धारा निर्माणपछि गोल्चेगाउँका तामाङ समुदाय खुसी भएका छन् । गोल्चेमा एक हजारभन्दा बढी मानिस बस्छन् । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले पुर्ख्यौली धाराको पुरानो पहिचान पनि सुरक्षित गरेर जीर्णोद्धार गरिएको बताए । सफा पानी पिउन र ठुलो धारामा छिटो लुगा धुन गाउँलेलाई सहज भएको उनको भनाइ छ । गाउँको बिचमा रहेको अव्यवस्थित धाराको व्यवस्थापन गरिएपछि सौन्दर्य पनि झल्किएको छ ।