दोस्रो ठुलो व्यापार साझेदार चीनसँग उच्च घाटा

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

नेपालले दोस्रो ठुलो व्यापार साझेदार मुलुक चीनसँग उच्च व्यापार घाटा व्यहोरिरहेको छ । पछिल्लो सात महिनामा मात्रै नेपालले चीनसँग दुई खर्ब ३४ अर्ब व्यापार घाटा व्यहोरेको छ । उत्तरतर्फको छिमेकी मुलुकबाट आयात उच्च दरमा बढ्दै गए पनि निर्यात बढाउन नसक्दा व्यापार घाटा चुलिँदै गएको हो । नेपालको कुल व्यापारमा १८.३ प्रतिशत हिस्सा चीनले आगेटेको छ । तर, बढ्दो अवस्थामा रहेको व्यापारबाट नेपालले लाभ भने लिन नसकेको सरकारी तथ्यांकले नै देखएको छ।

भन्सार विभागका अनुसार चालू आवको सात महिना (साउनदेखि माघसम्म)मा नेपालले चीनसँग दुई खर्ब ३६ अर्ब २८ करोड रुपैयाँबराबरको व्यापार गरेको छ । यस अवधिमा नेपालले चीनबाट दुई खर्ब ३५ अर्ब ३८ करोड रुपैयाँबराबरको आयात गर्दा निर्यात भने ९० करोड रुपैयाँबराबरको मात्रै गर्न सकेको हो । 

विभागका अनुसार गत आव ०८१/८२ को सात महिनामा नेपालले चीनबाट एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात गर्दा दुई अर्ब एक करोड रुपैयाँबराबरको निर्यात गर्न सकेको थियो । उक्त सात महिनामा नेपालले चीनसँग एक खर्ब ९० अर्ब ४४ करोडबराबरको व्यापार घाटा व्यहोरेको थियो । विभागको तथ्यांकलाई विश्लेषण गर्दा चालू आवको सात महिनामा गत आवको सोही अवधिको तुलनामा आयात २३.५ प्रतिशतले बढ्दा निर्यात भने १२३ प्रतिशतले घटेको देखिन्छ । 

आर्थिक वर्ष ०८०/८१ मा नेपालले दुई खर्ब ९८ अर्ब ७७ करोडको आयात गर्दा दुई अर्ब ५८ करोडको मात्रै निर्यात गर्न सकेको छ । उक्त आवमा नेपालले दुई खर्ब ९६ अर्ब १८ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ । जुन व्यापार घाटा अघिल्लो आव ०७९/८० को तुलनामा ७५ अर्ब २३ करोडले बढी हो ।  त्यसअघिको आर्थिक वर्ष ०७९/८० मा नेपालले दुई खर्ब २२ अर्ब ७१ करोडको आयात गर्दा एक अर्ब ७६ करोडको निर्यात गरेको थियो, जसमा नेपाललाई दुई खर्ब २० अर्ब ९५ करोड व्यापार घाटा भएको थियो । 

सुझावित समाचार