प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ । मतपत्र छपाइ तथा प्याकिङ सकिइसकेको छ । निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म सुदूरपश्चिम, कर्णाली र कोशी गरी तीन प्रदेशमा मतपत्र ढुवानी भइसकेको छ । अन्य प्रदेशहरूमा ढुवानी कार्य जारी रहेको सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरिएको छ । समानुपातिकतर्फ यसअघि नै दुई करोड आठ लाख ३० हजार मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको छ । निर्धारित समयभित्रै सबै प्रदेशमा मतपत्र ढुवानी भइसक्ने पुनले बताइन् । उनका अनुसार मतपत्रबाहेक अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको छ ।