शनिबार १० बजेसम्मका १० मुख्य समाचार

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

रौतहटमा कर्फ्यु आदेश जारी

दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि रौतहटमा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार दुवै पक्षबिच ६ बुँदे सहमति भए पनि अवस्था नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको हो ।

सदरमुकाम गौरका केही संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको आदेश तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।\\

तराईको निर्वाचन सुरक्षा अवस्था बुझ्न एआइजी चतुर्वेदीलाई खटाइयो

सरकारले निर्वाचनका क्रममा तराई क्षेत्रमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीको अध्ययन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ।

केन्द्रीय सुरक्षा समितिको बैठकले उनलाई तराईको सुरक्षा संवेदनशीलता विश्लेषण गरी प्रतिवेदन तयार पार्न र आवश्यक कारबाहीका सिफारिससहित पेश गर्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

एआईजी चतुर्वेदी कार्यक्षेत्रमा पुगिसकेका छन्। साथै, संवेदनशील क्षेत्रमा उच्च अधिकारीलाई डेडिकेटेड रूपमा परिचालन गर्ने निर्णय पनि गरिएको छ।

संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर संवैधानिक जटिलताका वेला सर्वोच्च अदालतले समयमै फैसला दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ढिलो गरी आउने न्यायको कुनै अर्थ नहुने बताए। म्याद गुज्रिएको औषधिजस्तो, म्याद गुजारेर दिने न्याय डेट एक्सपायर्ड मेडिसिनजस्तै हो,´ उनले भने, `त्यो व्यवहारमा काम लाग्दैन र त्यसले कुनै परिणाम पनि दिँदैन।´

लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल

सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल गरेकी छिन्।

शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन तयारीको समग्र अवस्थाबारे जानकारी लिएकी हुन्। बैठकमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक तयारीबारे ब्रिफिङ लिएकी थिइन्। सुरक्षा रणनीति, संवेदनशील क्षेत्रको पहिचान तथा आवश्यक जनशक्ति परिचालनका विषयमा विस्तृत समीक्षा गरिएको जनाइएको छ।

बाख्राले गहुँ खाएको निहुँमा युवकले कुटे महिला

बाख्राले गहुँ खाएको निहुँमा युवकले महिला माथि कुटपिट गरेका छन् । युवकको कुटाईवाट सुनापति गाउँपालिका ३ हिलेदेवीकी ३१ वर्षिय सानु खड्का घाइते भएकी छिन् । 

स्थानिय ज्ञान वहादुर खड्काको खेतमा लगाएको गहुँ बाख्राले खाएको भन्दै सानु खड्कालाई शुक्रवार दिउँसो स्टिलको थालले टाउँको लगाएतमा हिर्काउदा खड्का घाइते भएकी हुन् ।

बाख्राले गहुँ खाएको बिषयलाई लिएर विवाद चर्कदै जाँदा ज्ञानवहादुरले स्टिलको थालले अन्धाधुन्द रुपमा सानुलाई हिर्र्काएका थिए । 

भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा मलाई दु:ख दिइयो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न खोज्दा आफूलाई लक्षित गरी दुःख दिइएको बताएका छन्।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले इमानदारीपूर्वक काम गर्न खोजे पनि अवरोध खडा गरिएको दाबी गरे। चितवनवासीले सधैँ आफूलाई आशीर्वाद र न्यायका लागि आवाज दिएको उल्लेख गर्दै उनले जनताको साथ नै आफ्नो शक्ति भएको बताए।

टी २० विश्वकपः सुपर ८ को पहिलो खेल नै रद्द

टी २० विश्वकपमा सुपर ८ चरणको पहिलो खेल नै रद्द भएको छ। न्युजील्याण्ड र पाकिस्तानबिचको खेल वर्षाको कारण रद्द भएको हो।

कोलम्बोमा तय भएको खेल वर्षा नरोकिएपछि रद्द गरियो । यससँगै समूह बी मा रहेका न्युजील्याण्ड र पाकिस्तानबिच अंक बाँडेका छन् । यो समूहमा श्रीलंका र इंल्याण्ड पनि छन्। आइतबार उनीहरुबिच खेल रहेको छ। 

२५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कपको उपाधि सहारालाई

आयोजक सहारा क्लबले २५ औँ संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८२ को उपाधि हात पारेको छ। सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुडस प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिता शनिबार सम्पन्न फाइनलमा जावलाखेल युथ क्लबलाई ०—२ गोल अन्तरले पराजित गर्दै सहाराले दोस्रोपटक उपाधि हात पारेको हो ।

०७० सालमा पहिलोपटक उपाधि हात पारेको १२ वर्षपछि सहाराले दोस्रोपटक उपाधि हात पार्दा १४ वर्षपछि फाइनलमा स्थान बनाएको जावलाखेल भने यसपटकसमेत उपविजेतामै सीमित बन्न पुग्यो ।

धनकुटाको नमुना मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइयो

धनकुटा नगरपालिका–६, बहुउद्देश्यीय सामुदायिक कबर्ड हल आँखा अस्पताल ‘क’ मतदान केन्द्रलाई नमुना मतदान केन्द्र तोकिएको छ ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सो मतदान केन्द्रमा मतदान अधिकृत देखि सहयोगी कर्मचारीसम्म सबै महिलाहरू रहेका छन् । उक्त मतदान केन्द्रको मतदान अधिकृतमा इन्दिरा खड्कालाई तोकिएको छ । उपसचिव खड्का शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाकी प्रमुख हुन् ।

त्यस्तै, सहायक मतदान अधिकृतमा निलुशा अधिकारी र सहायक कर्मचारीमा रिता पाण्डे, रमा ढुंगाना र अम्बिका राई रहेकी छिन् भने सहयोगी कर्मचारीमा सीता राईलाई खटाएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए । १ सय ६६ मतदान केन्द्र र अस्थायी २ वटा मतदान केन्द्र रहेको धनकुटामा ९ सय ९९ जना कर्मचारीहरू मतदान सम्पन्न गर्नको लागि खटाइएको छ । 

धनकुटामा भएको दुर्घटनामा सातजना घाइते

काठमाडौंबाट हिले आउँदै गरेको माइक्रो बस धनकुटा नगरपालिका–१, निगालेमा दुर्घटनामा हुँदा सात यात्रु घाइते भएका छन्। ग २ ख १९५७ नम्बरको माइक्रो बस धनकुटाको निगालेमा शनिबार साँझ सडकबाट तल खोल्सामा खसेको हो। 

बसमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका धनकुटा नगरपालिका–१, सुकेपोखरीका ३६ वर्षीय रामचन्द्र तामाङलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले बताए। 

दुर्घटनामा धनकुटाको पाख्रीबास–६, फलाँटेका ३९ वर्षीय डिकबहादुर मगर, त्यही ठाउँका १८ वर्षीय अभिषेक मगर, धनकुटा–हिलेका ३५ वर्षीय युमेश विश्वकर्मा, उनकी छोरी १३ वर्षीया निश्मा शंकर, पाख्रीबास नगरपालिका–२, सान्नेका ४० वर्षीय झमकबहादुर आले र हिलेका ३५ वर्षीय कल्पना विक घाइते भएका छन्। उनीहरूको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। माइक्रोबसका चालक जिल्ला हुम्ला घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका–९, एकान्तकुना बस्ने ३९ वर्षीय विजय कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

सुझावित समाचार