धनकुटा नगरपालिका–६, बहुउद्देश्यीय सामुदायिक कबर्ड हल आँखा अस्पताल ‘क’ मतदान केन्द्रलाई नमुना मतदान केन्द्र तोकिएको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सो मतदान केन्द्रमा मतदान अधिकृत देखि सहयोगी कर्मचारीसम्म सबै महिलाहरू रहेका छन् । उक्त मतदान केन्द्रको मतदान अधिकृतमा इन्दिरा खड्कालाई तोकिएको छ । उपसचिव खड्का शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाकी प्रमुख हुन् ।
त्यस्तै, सहायक मतदान अधिकृतमा निलुशा अधिकारी र सहायक कर्मचारीमा रिता पाण्डे, रमा ढुंगाना र अम्बिका राई रहेकी छिन् भने सहयोगी कर्मचारीमा सीता राईलाई खटाएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए । १ सय ६६ मतदान केन्द्र र अस्थायी २ वटा मतदान केन्द्र रहेको धनकुटामा ९ सय ९९ जना कर्मचारीहरू मतदान सम्पन्न गर्नको लागि खटाइएको छ ।