नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ ले पार्टीका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार विष्णुप्रसाद पौडेलको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासलाई प्रथामिकतामा राखिएको छ । विकासका रोलमोडलका रूपमा स्थापित तथा रूपन्देही जिल्लामा, विशेष गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा विकासको गतिलाई तीव्रता दिन र भौतिक एवम् मानवीय विकासका दृष्टिले देशकै नमुना बनाउन निर्णायक भूमिका पौडेलले निर्वाह गरेको उल्लेख गर्दै एमालेले रूपन्देहीलाई, विशेषगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ लाई तीव्र वेगका साथ अझ बढी विकसित र समृद्ध तुल्याउनका लागि पौडेलको उम्मेदवारी रहेको एमालेले जनाएको छ ।
विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै प्रतिबद्धतापत्रमा रुपन्देहीका विभिन्न पालिकाहरुलाई जोडेर महानगरिय ढाचामा सहरी पूर्वाधार निर्माण गर्ने देखि राष्टिय राजमार्ग, पुल र स्थानिय सडक सञ्जालका विषय समेटिएको छ । कार्यक्रममा पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले सञ्चालन हुन वाकी सम्पन्न आयोजनाको सञ्चालन, निर्माणाधिन आयोजनाहरु सम्पन्न गर्ने तथा महत्वपूर्ण आयोजना अगाडी बढाउने दृढ संकल्प ब्यक्त गरे । उनले निर्माणाधीन १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याइने, सैनामैना र तिलोत्तमामा आधारभूत अस्पतालको स्तरोन्नति गरिने तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै प्रतिवद्धता पत्रमो शिक्षातर्फ लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार, बुटवल बहुमुखी क्याम्पसको पूर्वाधार विकास, मेडिकल कलेज सञ्चालन तथा कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने योजना अघि सारिएको छ ।
सामुदायिक विद्यालयमा पूर्वाधार, प्रयोगशाला र प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गरिने जनाइएको छ । रोजगारी र आयआर्जनमा सूचना प्रविधि केन्द्र स्थापना, स्टार्टअप सिड फन्ड, सहुलियत कर्जा तथा ‘पढ्दै काम गर्दै’ कार्यक्रममार्फत युवालाई उत्पादन र उद्यमसँग जोड्ने नीति लिइने उल्लेख छ । वैदेशिक रोजगारीबाट फर्केका युवाको सिप र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहजीकरण गरिने प्रतिबद्धता पनि जनाइएको छ ।
पूर्वाधार विकासअन्तर्गत सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुत मार्गमा स्तरोन्नति, सिद्धबाबा सुरुङमार्ग सम्पन्न, तिनाउ नदीमा सिग्नेचर पुल निर्माण तथा स्थानीय सडक सञ्जाल विस्तार गर्ने योजना समेटिएको छ । साथै कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना अघि बढाइ सिँचाइ र बस्ती संरक्षणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान, प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन केन्द्र सञ्चालन तथा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने प्रतिबद्धता पत्रमा समावेश छ । संघ, प्रदेश र स्थानीय तहबिच समन्वय सुदृढ गर्दै स्रोत व्यवस्थापन प्रभावकारी बनाइने उल्लेख गर्दै एमाले नेता पौडेलले रूपन्देही–२ लाई शिक्षा, स्वास्थ्य, उद्योग र सेवा क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य व्यक्त गरे ।