१०औँ संस्करणको टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपाली खेलाडी अहिले जय ट्रफीमा व्यस्त भइसकेका छन् । भारत र श्रीलंकाले आयोजना गरेको विश्वकपको समूह ‘सी’मा रहेको नेपालले तीन हार र एक जित निकाल्यो । नेपालले १२ वर्षपछि एक जित निकाल्दा स्कटल्यान्डलाई सात विकेटले हरायो । टोलीका १५ मध्ये १४ खेलाडीले खेल्ने अवसर पाए, तर बसिर अहमदले खेल्नै पाएनन् । नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी सबैभन्दा सफल देखिए ।
उनले लगातार दुई खेलमा अर्धशतकीय इनिङ्स खेले । सोमपाल कामी तीनवटा विश्वकप खेल्ने एक मात्र नेपाली क्रिकेटर बनेका छन् । पहिलो चरणबाटै बाहिरिएको नेपालको प्रदर्शन मिश्रित रह्यो । समग्रमा विश्वकप खेलेका नेपाली खेलाडीको प्रदर्शन यस्तो छ :
रोहित पौडेल : रोहितको कप्तानीमा नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकप खेल्यो । समग्रमा नेपालले तेस्रोपटक विश्वकप खेलेको हो । सन् २०२४ र ०२६ को विश्वकपमा नेपालले उपस्थिति जनाए पनि कप्तानीका रूपमा उनले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । यद्यपि, उनकै कप्तानीमा नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्यो । समूह ‘सी’को अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि सात विकेटको जित निकाल्यो । रोहितले आफ्नो कप्तानीमा विश्वकपमा लगातार ६ खेलको हार पनि तोडे । चालू विश्वकमा उनले चार खेलमा ८३ रन बनाए । उनले इंग्ल्यान्डविरुद्ध ३९ रन, इटलीविरुद्ध २३ रन, वेस्ट इन्डिजविरुद्ध पाँच रनमा र स्कटल्यान्डसँगको खेलमा १६ रन बनाएर आउट भए । ब्याटिङ अलराउन्डर भूमिका निर्वाह गर्ने रोहितले स्कटल्यान्डविरुद्ध बलिङ गर्दै २१ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरी : १०औँ संस्करणको विश्वकप उपकप्तान ऐरी नेपाली टोलीकै स्टार बने । उनले चालू विश्वकपमा व्यक्तिगत रेकर्ड राखे । लगातार दुई खेलमा अधशतकीयसँगै विकेट पनि उनले लिए । एक किसिमले ऐरीले चारै खेलमा अलराउन्ड प्रदर्शन गरे । विश्वकपमा दुई अर्धशतक लगाउने उनी पहिलो नेपाली बने । वेस्ट इन्डिजविरुद्ध उनको ५८ रन विश्वकपमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर रह्यो । सन् २०१४ को विश्वकपमा ओपनर सुवास खकुरेलले ५६ रन बनाएका थिए । स्कटल्यान्डविरुद्ध उनले २३ बलमा ५० रन जोड्दा नेपालले १२ वर्षपछि विश्वकपमा जित निकाल्यो । इंग्ल्यान्डविरुद्धको सनसनी खेलमा उनले महŒवपूर्ण ४४ रन जोडेका थिए । इटलीसँगको खेलमा उनी १७ रनमा आउट भए । गत बुधारसम्म उनी विश्वकपकै सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा थिए । उनले समग्रमा चार खेलमा एक सय ६९ रन जोडेका थिए । बलिङमा उनले चार खेलमा दुई विकेट पनि लिएका छन् ।
सोमपाल कामी : चालू विश्वकपमा सोमपालले व्यक्तिगत रेकर्ड बनाए । पहिलो दुई खेलमा प्रशिक्षक स्टुवार्ट लले अनुभवी खेलाडी सोमपाललाई बेन्चमा राखेका थिए । प्रशिक्षकले आशा गरेका युवा खेलाडीले खराब प्रदर्शन गरेपछि सोमपालले वेस्ट इन्डिजसँगको खेलमा मौका पाए । वेस्ट इन्डिजविरुद्धको खेलसँगै नेपाली खेलाडीमध्ये तीन विश्वकप खेल्ने उनी पहिलो खेलाडी बने । लगातार दुई खेलमा मौका पाउँदा उनले आफूलाई प्रमाणित गरेका थिए । वेस्ट इन्डिजविरुद्ध उनले आक्रामक रूपमा ब्याटिङ गरी २६ रन बटुलेका थिए । उनकै ब्याटिङ प्रदर्शनका कारण नेपालले वेस्ट इन्डिजलाई सम्मानजक योगफल दिएको थियो । प्रशिक्षक स्टुवार्टले उनलाई स्कटल्यान्डविरुद्ध पहिलो रोजाइमै राखे । सो खेलमा स्कटल्यान्डको रन गति रोक्न उनले महत्वपूर्ण भूमिमा निर्वाह गरे । उनले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिएका थिए । विश्वकपमा नेपालबाट धेरै विकेट लिने उनी पहिलो बलर बनेका छन् ।
कुशल भुर्तेल : स्कटल्यान्डसँगको खेलबाहेक नेपालको ओपनिङ दमदार भएन । ओपनिङ ब्याट्सम्यान असफल हुँदा नेपालले इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजविरुद्ध पावर प्लेमा कमजोर प्रदर्शन गर्यो । पछिल्लो समयमा नेपालका लागि ओपनिङ गर्दै आइरहेका कुशलले तीन खेलमा स्वाभाविक खेल खेल्न सकेनन् । कुशलले इंग्ल्यान्डविरुद्ध २९ रन, इटालीविरुद्ध पाँच रन तथा वेस्ट इन्डिजसँगको खेलमा एक रन बनाए । अन्तिम खेलमा उनले स्कटल्यान्डविरुद्ध विस्फोटक ब्याटिङ गरी ४३ रन जोडेका थिए । वानखेडे रंगशालामा उनले स्कटल्यान्डसँगको प्रतिस्पर्धामा विशाल चार छक्का लगाएका थिए । कुशलले खेलमा समग्रमा गरी ७८ रन बनाए । ओपनिङ खेलाडीका रूपमा यो स्कोर राम्रो मानिँदैन ।
लोकेश बम : लोकेशले डेब्यु विश्वकपमा मिश्रित नतिजा निकालेका छन् । विश्वकपकै डेब्यु खेलमा लोकेशले दुईपटकको विजेता इंग्ल्यान्डविरुद्ध असाधारण प्रदर्शन गरे । सो खेलमा उनले २० बलमा चार चौका र दुई छक्का प्रहार गरी ३९ रनमा नटआउट इनिङ्स खेले । यद्यपि, इंग्ल्यान्डसँग नेपाल चार रनले चुक्यो । पहिलो खेलबाहेक उनको ब्याटिङ दमदार भएन । प्रशिक्षक स्टुवार्टले खुबै मन पराएका लोकेश इटालीविरुद्ध तीन र वेस्ट इन्डिजविरुद्ध १३ रनमा आउट भए । खराब प्रदर्शन भएपछि उनी स्कटल्यान्डविरुद्धको खेलमा बेन्चमा रहे ।
गुल्सन झा : नेपालका एक मात्र बायाँहाते ब्याट्सम्यान गुल्सन ठुलो सट खेल्न माहिर छन् । विश्वकपमा उनीबाट यस्तै अपेक्षा थियो । तर, आफ्नो क्षमताअनुसार वानखेडे रंगशालामा खेल देखाउन चुके । यद्यपि, अन्तिम खेलमा गुल्सनले ब्याटिङमा स्कटल्यान्डविरुद्ध दीपेन्द्रसिंहलाई म्याच विनिङ साझेदारीमा साथ दिए । यही खेल नै उनको सम्झनलायक रह्यो । स्कटल्यान्डविरुद्ध उनले नटआउट २४ रन बनाएका थिए । यसबाहेक उनले इंग्ल्यान्डविरुद्ध तीन रन, इटालीसँग एक रन तथा वेस्ट इन्डिजविरुद्ध ११ रन जोडेका थिए ।
आसिफ शेख : कुशलका पार्टनर आसिफ पनि खासै चल्न सकेनन् । इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटालीविरुद्धको प्रतिस्पर्धामा उनले गतिलो ओपनिङ दिलाउन सकेनन् । समूह ‘सी’को अन्तिम खेलमा उनले ३३ रन जोडेका थिए । यसअघि इंग्ल्यान्डविरुद्ध सात रन, इटालीसँग २० रन तथा वेस्ट इन्डिजविरुद्ध उनले ११ रन जोडेका थिए । समग्रमा उनले चार खेलमा ७१ रन जोडेका थिए । ब्याटिङमा मात्र नभएर उनले विकेट किपिङ पनि गतिलो प्रदर्शन गर्न सकेन । उनले इंग्ल्यान्ड र स्कटल्यान्डसँगको खेलमा समान एक क्याच समाते ।
आरिफ शेख : दोस्रो नेपाल प्रिमियर लिगमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका कारण नै आरिफले टी–२० विश्वकपमा स्थान बनाएका हुन् । टी–२० फम्र्याटमा जमेका ब्याट्सम्यानले विश्वकपजस्तो ठुलो स्टेजमा मध्यक्रममा राम्रो गर्न सकेनन् । इंग्ल्यान्डविरुद्ध १० रन जोडेका उनले नवप्रवेशी राष्ट्र इटलीविरुद्ध सर्वाधिक २७ रन बनाएका थिए । दुईपटकको विजेता वेस्ट इन्डिजसँगको खेलमाआरिफले दुई रन मात्रै बनाए । खराब ब्याटिङ प्रदर्शन गरेका कारण नै उनी चौथो खेलमा बेन्चमै रहे ।
सन्दीप लामिछाने : सन्दीप टोलीमा आबद्धमध्ये सबैभन्दा अनभुवी खेलाडी थिए । विशेष टी–२० फ्रेन्चाइजका अनुभवी सन्दीपले दोस्रोपटकको विश्वकप खेलिरहँदा आशालाग्दो प्रदर्शन गर्न सकेनन् । विश्वकपअगाडि बंगलादेश प्रिमियर लिग र दोस्रो एनपिएलको अनुभव बटुल्दै उनले विश्वकपमा उत्कृष्ट बलिङ गर्ने अपेक्षा थियो । तर, नेपालकै प्रमुख लेग स्पिनर कहलाएका सन्दीपले केवल एक विकेट मात्र लिए । त्यो पनि इंग्ल्यान्डसँगको खेलमा उनले २५ रन खर्चेर एक विकेट हात पारेका थिए । चार खेलमा उनले एक सय २३ रन खर्चेका थिए । यसपटक उनी नेपाली बलरमध्ये सर्वाधिक खर्चिलो देखिए ।
नन्दन यादव : प्रशिक्षक स्टुवार्टको रोजाइमा परेका यादवले चारै खेल खेल्ने अवसर पाए । उनले चार खेलमा प्रशिक्षकलाई निराश बनाएनन्, एक किसिमले विश्वकपमा राम्रै प्रदर्शन गरेको भन्नुपर्छ । समग्रमा उनले चार खेलमा पाँच विकेट लिएर विश्वकपको अनुभव बटुले । पहिलो खेलमा उनले इंग्ल्यान्डविरुद्ध तीन ओभरमा २५ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । कमजोर मानिएको इटालीसँगको खेलमा एक ओभरमा उनले १२ रन खर्चिए । यादवले वेस्ट इन्डिजविरुद्ध तीन ओभरमा २४ रन दिएर एक विकेट लिए । वेस्ट इन्डिजसँगको खेलमा उनको नाममा एक मात्र विकेट रह्यो । अन्तिम खेलमा स्कटल्यान्डलाई नेपालले हराउँदा उनले ३४ रन खर्चेर दुई विकेट लिए । चारै खेलमा विकेट लिने उनी मात्र हुन् ।
करण केसी : लगभग एक दशकदेखि करण नेपालका ओपनिङ बलर हुन् । फास्ट बलर करणले चालू विश्वकपमा आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सकेनन् । दुईपटक विश्वकप खेल्दा पनि उनी विकेटविहीन भए । प्रशिक्षक स्टुवार्टले उनलाई पहिलो तीन खेलमै मौका दिएका थिए । खर्चालु देखिनुका साथै विकेटविहीन भएपछि करण चौथो खेलमा बाहिरिए । इंग्ल्यान्डविरुद्ध ३५ रन, इटालीविरुद्ध २१ रन दिएका करणले वेस्ट इन्डिजसँगको खेलमा १२ रन खर्चिए । ब्याटिङ अवसर पाउँदा उनले समग्रमा २० रन बनाए । जसमध्ये इटालीसँगको खेलमा उनले १८ रन जोडेका थिए ।
ललित राजवंशी : स्टुवार्टले वानखेडेको पिचअनुसार राजवंशीलाई टोलीमा समावेश गरेका थिए । तर, राजवंशीले एक खेलमा मात्र अवसर पाए । इटालीसँगको खेलमा मौका पाउँदा उनी विकेटविहीन भए । उनले यस खेलमा १९ रन खर्चेका थिए । लगातार दुई विश्वकपमा सहभागी हुँदा पनि राजवंशी इंग्ल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्डविरुद्धको खेलमा बेन्चमै सीमित भए ।
शेर मल्ल : दोस्रो एनपिएलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि शेरले विश्वकपमा स्थान बनाए । प्रशिक्षकको नजरमा रहेका शेर इंग्ल्यान्डविरुद्धको खेलमा समावेश हुँदै विश्वकपमा डेब्यु गर्न सफल भए । वानखेडेको पिचमा उनले दोस्रो ओभरमै बलिङ गरी पहिलो बलमै विकेट लिएर सनसनी मच्चाए । उनले फिल्ड साल्टको विकेट लिएका थिए । सो खेलमा उनले ३५ रन खर्चिए । त्यसपछि उनी तीन खेलमा बेन्चमै रहे ।
सन्दीप जोरा : सन्दीपको विशेषता मध्यक्रममा आक्रामक ब्याटिङ गर्नु हो । तर, विश्वकपमा उनले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सकेनन् । उनले एक खेल मात्र खेल्ने अवसर पाए । इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँगको खेलमा बेन्चमा सीमित भएका सन्दीपले स्कटल्यान्डविरुद्ध अवसर पाए । तर, उनले ब्याटिङ अवसर नै पाएनन् ।