दाङको तुलसीपुरमा एमालेको झन्डा जलाएको आरोपमा थप दुईजनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं.४, हलवारनिवासी ३० वर्षीय रमेश राणामगर र तुलसीपुर- ६, गाइडहरनिवासी २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरिएको हो। उनीहरू फरार थिए।
यसअघि शुक्रबार मात्रै तुलसीपुर-७, कालाखोलानिवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो। प्रहरीले झन्डा जलाउनेमा संलग्न तीनजनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। अन्य सम्भावित व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीको भनाइ छ।
दाङको घोराहीमा हुने कार्यक्रममा सहभागि हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन शाह आउने भन्ने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूले झन्डा जलाएको भन्दै एमाले शुक्रबार दाङको घोराही, तुलसीपुर, लमहीलगायतका स्थानमा विरोध कार्यक्रमसमेत गरेको थियो ।