साढे २३ हजारभन्दा बढी सेवाग्राहीले आयुर्वेद सेवा लिए

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

एक वर्षको अवधिमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाबाट साढे २३ हजारभन्दा बढी सेवाग्राहीले आयुर्वेद सेवा लिएका छन् ।

गत आर्थिक वर्ष ०८१/८२ मा २३ हजार ६७० जनाले विभिन्न प्रकारका आयुर्वेद सेवा लिएका हुन् । आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक वर्षमा तीन हजार १२३ जनाले ओपिडी सेवा, २५० जनाले योग अभ्यास, २६० जनाले चिकित्सक शिविर र दुई हजार ५०२ जनाले पूर्वकर्म सेवा लिएको जनाएको छ ।

त्यसैगरी ८२ जनाले पञ्चकर्म सेवा, ५२६ जानले उपक्रम सेवा, १०१ जनाले ज्येष्ठ नागरिक सेवा, एक हजार १३ जनाले योग सेवा, ५१२ जनाले प्याथोलोजी सेवा र १४ हजार ५६० जनाले नागरिक आरोग्य सेवा दिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाकी प्रमुख डा. विद्या श्रेष्ठले बताइन् ।

आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न २३ वटा रोगको निःशुल्क औषधि वितरण गर्दै आएको छ । उक्त सेवा जिल्ला स्वास्थ्य केन्द्र धनकुटाअन्तर्गत रहेको सहिदभूमि गाउँपालिका, आयुर्वेद औषधालय पाख्रीबास, नागरिक आरोग्य सेवा केन्द्र महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिका आरोग्य सेवा केन्द्रमा पनि सञ्चालन हुँदै आएको छ ।

स्वास्थ्य केन्द्रमा दैनिक ओपिडी सेवाअन्तर्गत पेटसम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, छालासम्बन्धी रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपन, पत्थरी, पायल्सलगायतका रोगको उपचार हुँदै आएको छ । स्वास्थ्य केन्द्रमा अत्याधुनिक उपकरणको माध्यमद्वारा रगत, पिसाब, दिसालगायतको जाँच पनि हुँदै आएको छ । 

सुझावित समाचार