जिम्बावेले चालू १०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अर्को पूर्वविजेतालाई श्रीलंकालाई स्तब्ध पारेको छ । कोलम्बोको प्रेमादासा रंगशालामा बिहीबार जिम्बावेले सन् २०१४ को विजेता श्रीलंकालाई ६ विकेटले पाखा लगाएको छ । समूह ‘बी’मा जिम्बावे ७ अंकका साथ शीर्ष स्थानमा उक्लियो । आयोजक श्रीलंका भने ६ अंकसहित दोस्रो स्थानमा छ । जिम्बावेले समूह चरणको खेलमा सन् २०२१ को विजेता अष्ट्रेलियालाई २६ रनले निराश बनाएको थियो ।
चालू विश्वकपको उपाधि दाबेदार मानिएको अस्ट्रेलिया श्रीलंका र जिम्बावेलाई नतिजा सुम्पिएपछि विश्वकप दौडबाट बाहिरिएको हो । जिम्बावे आइसिसी टी–२० वरीयतामा ११औँ स्थानमा छ । क्रिकेटविज्ञहरूले जिम्बावे–अस्ट्रेलियाबिचको नतिजालाई स्तब्ध मानेका थिए । तर, दोस्रोपटक अर्को बलियो राष्ट्र श्रीलंकालाई हराउँदा विज्ञहरूले जिम्बावेलाई साधारण टोलीका रूपमा नलिन बताएका छन् । प्रेमादासा रंगशालामा पहिलो ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर १७८ रनको योगफल बनाएको थियो ।
१७९ रनको लक्ष्य पछ्याएको जिम्बावेले १९.३ ओभरमा चार विकेटको क्षतिमा १८२ रन जोड्दै सनसनी नतिजा निकाल्यो । जिम्बावेलाई अर्को ऐतिहासिक जित दिलाउने क्रममा कप्तान सिकन्दर राजाले २६ बलमा ४५ रनको आक्रामक इनिङ्स खेलेका थिए । श्रीलंकाले भने अघिल्लो खेलमा अस्ट्रेलियालाई एकपक्षीय खेलमा आठ विकेटले हराएको थियो ।
जिम्बावेको बलियोे साझेदारी
लक्ष्य पछ्याउँदा जिम्बावेले चारै विकेटका लागि राम्रो साझेदारी पायो । ओपनर ब्रायन बेनेटी र मारुमानीले पहिलो विकेटका लागि ८.३ ओभरमा ६९ रनको साझेदारी गरेका थिए । त्यसपछि रायन ब्रुल र बेनेटीले दोस्रो विकेटका लागि २९ रन जोडे । सिकन्दर राजाले बेनेटीसँग तेस्रो विकेटका लागि ४० बलमा ६९ रन जोडे । बेनेटी र मुन्योबिच पाँचौँ विकेटका लािग चार बलमा १३ रन जोड्दा जिम्बावेले श्रीलंकलाई तीन बलअघि नै हरायो । बेनेटीले नटआउट रहँदै ४८ बलमा आठ चौकाको सहयोगमा ६३ रन जोडे । मारुमानीले २६ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३४ रन बनाए । रायनले १२ बलमा दुई चौका र एक छक्काको सहयोगमा २३ रन जोडे । म्यान अफ दी म्याच राजाले चार छक्का र दुई चौका प्रहार गरेका थिए । बेनेटी चालू विश्वकपमा सर्वाधिक रन बनाउने सूचीको छैटौँ स्थानमा पुगेका छन् । उनले तीन खेलमा दुई अर्धशतकीय योगदानमा १७५ रन बनाएका छन् ।
श्रीलंकाको मध्यक्रम बलियो
पहिलो ब्याटिङ गरेको श्रीलंकाको शीर्ष र मध्यक्रम बलियो हुँदा जिम्बावेलाई चुनौतीपूर्ण योगफल खडा गरेको हो । तर, जिम्बावेका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनका अगाडि श्रीलंकाको केही चलेन । श्रीलंकाका लागि पाथुम निसांकले ४१ बलमा आठ चौकाको सहयोगमा सर्वाधिक ६२ रन जोडे । चालू प्रतियोगितामा उनी सर्वाधिक रन बनाउने दोस्रो स्थानमा छन् । उनले चार खेलमा १९९ रन बनाएका छन् । यसैगरी, अर्का ओपनर कुशल परेराले १४ बलमा २२ रन बनाए । कुशल मेन्डिसले १४ रन जोडे । उनी सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको तेस्रो स्थानमा छन् । उनले चार खेलमा १८२ रन बनाएका छन् । चौथो क्रमका पवन रत्नायेकेले २५ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ४४ रन जोडे ।