गृह मन्त्रालयले निर्वाचन प्रचारप्रसारका क्रममा ‘रुफ टप भेहिकल’ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको हो ।
गृहप्रवक्ता आनन्द काफ्लेका अनुसार ‘रुफ टप भेहिकल’ प्रयोग गर्दा उम्मेदवारको सुरक्षामा खतरा देखिएको निष्कर्ष निकालिएको छ । ‘सुरक्षाका दृष्टिले ‘रुफ टप भेहिकल’ प्रयोग जोखिमपूर्ण देखियो । त्यसैले निर्वाचन अवधिभर उम्मेदवारले यस्ता सवारीसाधन प्रयोग गर्न पाउनेछैनन् ।
उम्मेदवारकै सुरक्षालाई ध्यानमा राखेर निर्णय गरिएको हो,’ उनले भने । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएलगत्तै केही उम्मेदवारले ‘रुफ टप भेहिकल’ प्रयोग गर्दै आएका थिए । विशेष गरी रवि लामिछाने र बालेन्द्र शाहले यस्ता सवारीसाधन प्रयोग गर्दै सर्वसाधारणसँग भेटघाट तथा सम्बोधन गरिरहेका थिए ।
सुरक्षा संयन्त्रका चारवटै निकायले यस्तो प्रयोग उम्मेदवारका लागि खतरापूर्ण हुने सुझाव दिएपछि समितिले निर्वाचन अवधिभर प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएको छ । गृह स्रोतका अनुसार ‘रुफ टप भेहिकल’मा उभिएर प्रचार गर्दा सुरक्षा निकायको प्रत्यक्ष पहुँच कमजोर हुने र टाढाबाट आक्रमण वा ढुंगा प्रहारजस्ता जोखिम बढ्ने सम्भावना रहन्छ । ‘यसले उम्मेदवारको ज्यानमा खतरा निम्त्याउन सक्छ । त्यसैले यस्ता सवारीसाधन प्रयोगमा रोक लगाइएको हो,’ स्रोतले भन्यो ।
बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख, प्रदेश कमान्डर, प्रदेशका प्रमुख सचिव तथा प्रमुख जिल्ला अधिकारी सहभागी थिए । जुममार्फत गरिएको बैठकमा समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा ब्रिफिङ लिएका थिए । बैठकमा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध अधिकांश स्थानमा तयार रहेको जानकारी दिइएको छ भने केही जिल्लामा थप सुरक्षा व्यवस्था गर्नुपर्ने सुझाव पनि आएको छ ।
तीन जिल्लामा थप सुरक्षाकर्मी खटाइने
बढ्दो सुरक्षा चुनौतीको विश्लेषणपछि गृहले झापा, दोलखा र रामेछाप जिल्लामा थप सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ । उम्मेदवारबिचको कडा प्रतिस्पर्धा झडपमा बदलिन सक्ने आकलनका आधारमा तीन जिल्लालाई संवेदनशील मानिएको हो । झापा ५ लाई विशेष संवेदनशील मानिएको छ । दोलखामा विगतमा पनि झडप तथा बुथ कब्जाका घटना हुने गरेका थिए । रामेछापमा सुरक्षा चुनौती बढेको गृहको विश्लेषण छ ।
बुथ कब्जा रोक्न कडाइ
गृह मन्त्रालयले निर्वाचनका क्रममा बुथ कब्जा गर्नेहरूमाथि कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ । विगतका निर्वाचनमा दलका कार्यकर्ता, स्थानीय गुन्डा समूह, प्रहरी तथा मतदानस्थलमा खटिएका कर्मचारीको मिलेमतोमा बुथ कब्जाका घटना हुने गरेको भन्दै यसपटक कडाइ गरिने बताइएको छ । ‘विगतमा बुथ कब्जाका घटना हुने गरेका थिए ।
यसपटक त्यस्ता गतिविधि हुन दिइनेछैन । यदि कसैले यस्तो कार्य गरेको पाइए प्रहरी, कर्मचारी वा अन्य जो–कोहीमाथि कानुनी कारबाही गरिनेछ,’ प्रवक्ता काफ्लेले भने । त्यस्तै, रामेछापमा पनि एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच नै कडा प्रतिस्पर्धा छ । रामेछापमा एमालेबाट माधव ढुंगेल, कांग्रेसबाट रामचन्द्र खड्का, नेकपाबाट श्यामकुमार श्रेष्ठ र रास्वपाबाट डा. कृष्णहरि बुढाथोकी रहेका छन् ।