एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत बिहीबार भएको खेलमा एपिएफ फुटबल क्लब (एपिएफ एफसी) ले संकटा क्लबलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेकाे छ। उदयपुरको थरूहट रंगशालामा भएको यस खेलमा एपिएफले खेलको सुरुवातदेखि नै दबदबा कायम राखेको थियो।
एपिएफले पहिलो हाफमै दुई गोल गर्दै बलियो स्थिति बनाएको थियो। खेलको ११ औँ मिनेटमा अनिता केसीको गोलबाट अग्रता लिएको एपिएफका लागि १३ औँ मिनेटमा रश्मीकुमारी घिसिङले दोस्रो गोल थपिन्। दोस्रो हाफमा थप आक्रामक बनेको एपिएफका लागि ८७ औँ मिनेटमा गीता रानाले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्।
संकटा एफसीले खेलको १९ औँ मिनेटमै नेहाकुमारी चौधरीको स्थानमा धना बोहरालाई मैदान प्रवेश गराए पनि गोल फर्काउन सकेन। एपिएफले पनि दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै ५६ औँ मिनेटमा अनिता केसी र कप्तान अनिता बस्नेतलाई विश्राम दिएर रेनुका हमाल र हिमा रावतलाई मैदान पठाएको थियो ।
एपिएफकी प्लेयर अफ द म्याच मान माया दमाईं घाेषित भइन् । यो जितसँगै एपिएफले च्याम्पियनसिपमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ।
शनिबार उपाधिका लागि आर्मी र एपिएफ भिड्ने
गत बुधबार भएकाे जारी एन्फा महिला च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेकाे छ । नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको थियाे । अब उपधिकाा लागि शनिबार आर्मी र एपिएफ भिड्ने भएका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा जारी प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ। विजेताले ७ लाख ५० हजार तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन्।