नेपाली कम्युनिस्ट पार्टी सल्यानले ‘समृद्ध सल्यान, हाम्रो अभियान’ भन्ने नारासहित ६बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। राजनीतिक स्थायित्वदेखि उत्पादनमा ३० प्रतिशतले वृद्धि, पूर्वाधार, पर्यटन, शिक्षा स्वास्थ्य ऊर्जा र युवा स्वरोजगारसम्मका क्षेत्रलाई समेट्दै पार्टीले सल्यानलाई आगामी दुई वर्षभित्र उज्यालो जोडिएको र उत्पादक जिल्ला बनाउने महत्त्वकांक्षी योजना अघि सारेको छ।
सार्वजनिक गरिएको प्रतिबद्धतामा सडक र पर्यटनलाई प्राथमिकता दिइएको छ। राप्ती लोकमार्ग, मदन भण्डारी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गलगायत रणनीतिक सडकहरूको स्तरोन्नति र निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ। जिल्लाका सबै पालिका र वडासम्म पक्की सडक विस्तार, सञ्चार पूर्वाधार सुदृढीकरण तथा दुई वर्षभित्र सबै घरधुरीमा गुणस्तरीय सञ्चार सेवा पुर्याउने लक्ष्य लिइएको छ। सार्वजनिक सेवामा डिजिटल पहुँच र इन्टरनेट विस्तारमा पनि जोड दिइएको छ।
यस्तै, जिल्लाको समग्र ‘पर्यटन गुरुयोजना’ निर्माण गरी ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा कृषि पर्यटनको एकीकृत विकास गरिने जनाइएको छ। कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, शंखमूल, फालाबाङ पुतली दरबारलगायतका पर्यटकीय गन्तव्यहरूको संरक्षण र प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।
लोकसंस्कृति संरक्षणका लागि ‘सल्यान सांस्कृतिक प्रतिष्ठान’ स्थापना गर्ने, होमस्टे प्रवर्द्धन, वार्षिक पर्यटन महोत्सव आयोजना तथा स्थानीय भाषा–संस्कृतिको संरक्षणमा पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
संघीय शिक्षा ऐन पारित गर्न पहल, कृषि क्याम्पस स्थापना, डिजिटल सिकाइ प्रणाली विस्तार, प्राविधिक तथा सिपमूलक शिक्षा कार्यक्रम थप गर्ने योजना सार्वजनिक गरिएको छ। सल्यान जिल्ला अस्पतालको निर्माण सम्पन्न गरी १०० शय्यासम्म स्तरोन्नति गर्ने, सबै पालिकामा १५ शय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
स्वास्थ्य बिमा कार्यक्रम विस्तार, टेलिमेडिसिन सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा जेष्ठ नागरिक, महिला र बालबालिकालक्षित स्वास्थ्य सेवा प्रभावकारी बनाइने जनाइएको छ। खेलकुद विकासका लागि जिल्ला रंगशाला, पालिकास्तरमा कभर्ड हल र विद्यालयस्तरमा खेलमैदान निर्माण गर्ने योजना पनि अघि सारिएको छ।