कांग्रेसका शीर्ष नेताहरूले मधेशसँगै सिंगो देशको अवस्था बदल्न आफ्नो पार्टीलाई जिताउन मधेशी जनतासँग आह्वान गरेका छन् । कांग्रेसले बुधबार जनकपुरधामबाट सुरु गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरूले देश बनाउन कांग्रेसको नेतृत्व चाहिने दाबी गरेका हुन् । सर्लाही– ४ मा उम्मेदवार बनेका कांग्रेस सभापति गगन थापाले मधेशसँगै देशको अवस्था सुधार गर्न आफू मधेशबाट चुनाव लडेको बताए । ‘मेरो हृदयमा दुर्गानन्द झा, कामेश्वर–कुशेश्वरप्रति सम्मान छ । मधेशले जन्माएको कांग्रेसको एउटा कार्यकर्ता भएर सर्लाही ४ बाट उम्मेदवार बनेको हुँ । मधेश र कांग्रेसको सम्बन्ध नयाँ होइन । चुनाव जित्नलाई मात्र होइन, मधेशसँगै देशको अवस्था सुधार गर्न प्रतिज्ञा गर्न आएको हुँ,’ सम्बोधनको सुरुवातमा मैथिलीमा बोलेको थापाले भने ।
२३ र २४ भदौको जेन–जी आन्दोलनको भावना आत्मसात् गर्दै कांग्रेस विगतका गल्ती सुधार गरेर अगाडि बढ्न चाहेको थापाले बताए । साथै उनले सहकार्यकै बलमा कांग्रेसले आफ्नो नेतृत्वमा देश बनाउने सुनाए । ‘बदलिएको कांग्रेसले कसैसँग घृणा होइन, प्रेम र निषेध होइन, समावेश गरेर मुलुकलाई समृद्ध बनाउने प्रतिज्ञा गरेको छ । हामी एक्लैले देश बनाउन होइन, बरु एमाले, नेकपा, रास्वपा, जसपा सबै चाहिन्छ । देशभरिका वडा र सातै प्रदेश चाहिन्छ । तर, त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ,’ आसन्न निर्वाचनमा कांग्रेसको तर्फबाट प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका सभापति थापाले भने ।
कांग्रेसले सुधार गर्न चाहेका विषयमा पनि सभापति थापाले धारणा राखेका थिए । ‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउनेछन् । प्रत्येक नागरिकले आफ्नो सपना देख्न पाउने र जीवनकालमा त्यसलाई साकार पार्न सक्ने अवसर पाउनेछ,’ उनले भने, ‘सानालाई ऐन र ठुलालाई चैन हुनेछैन । मलखादका लागि किसान लाइनमा लाग्नु नपरोस्, लाइसेन्स बनाउन कसैलाई घुस दिनु नपरोस् भन्ने हाम्रो प्रतिज्ञा हो ।’
कृषकलाई केन्द्रमा राख्दै नेपाललाई पेटभरि खुवाउने र आफ्नै उत्पादनलाई विश्वभर चिनाउने किसानको देश बनाउने प्रतिबद्धता उनले जनाए । शिक्षामा लगानीलाई प्रभावकारी बनाउने र छोराछोरी पढाउन ऋण लिन नपर्ने व्यवस्था सुनिश्चित गर्ने उनले बताए । ‘नेपाललाई हामी छोराछोरीलाई पढाउँदा ऋण नलिनुपर्ने बनाउनेछौँ । हाम्रो देशमा ओखती गर्दा डर नलाग्ने वातावरण सिर्जना गर्नेछौँ,’ थापाले भने । उनले मधेशको शिक्षा प्रणालीमा पनि सुधार गर्ने सुनाए ।
उपसभापति विश्वप्रकाश शर्माले विगतका कमजोरी केलाएर चुनावमा सुधारिएको कांग्रेसले अनुमोदन खोजेको बताए । ‘भएको काम बुझाउन नसक्दा र कमजोरी गर्दा हामीले एउटा ठुलो क्षति व्यहोरेका छौँ । मधेश–पहाडलाई कहाँ दुखेको छ र नागरिकलाई कहाँ दुखेको छ भन्ने विषयमा हामीले विशेष महाधिवेशनबाट एमआरआई गरेका छौँ । हामी सुधारिएर अनुमोदन हुन आएका छौँ,’ शर्माले भने ।
कांग्रेसले आगामी २१ फागुनको निर्वाचन मात्रै नसोचेको भन्दै शर्माले ०९२ सालका लागि पनि दृष्टिकोण बनाएको दाबी गरे । ‘अहिले कसले चुनाव जित्नेभन्दा कसलाई विषम अवस्थामा देश सुम्पने भन्ने महत्वपूर्ण हो,’ उनले भने, ‘अहिले समक्ष नेतृत्व आउन सकेन भने जेन–जीजस्तै अर्को १० वर्षपछि एल्फाबिटा पुस्ताले आन्दोलन गर्दैन भन्ने के ग्यारेन्टी छ । त्यसैले विगतमा विभिन्न समस्या सम्बोधन गर्दै आएको कांग्रेसलाई अहिले देशको नेतृत्व दिनु आवश्यक छ ।’
उपसभापति पुष्पा भुसालले परिवर्तनका मुद्दा र सुशासनका लागि कांग्रेसको जित जरुरी रहेको बताइन् । ‘मधेश प्रदेश कांग्रेसमय भइसकेको छ । हामीले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा गगन थापालाई निर्वाचित गरेर पठाउने अवसर यो प्रदेशलाई दिएका छौँ,’ उनले भनिन्, ‘मधेशको मतबाट कांग्रेस पटकपटक सरकारमा पुगेको छ । अहिले कांग्रेस रूपान्तरण र परिवर्तनको मुद्दा बोकेर अगाडि बढेको छ । परिवर्तनको मुद्दा संस्थागत गर्न कांग्रेसको जित जरुरी छ ।’
कांग्रेस पूर्वउपसभापति तथा धनुषा ३ का उम्मेदवार विमलेन्द्र निधिले संविधान र लोकतान्त्रिक शासन व्यवस्था जोगाउन कांग्रेसको जित अनिवार्य रहेको बताए । ‘अहिले नेपालमा जननिर्वाचित सरकार र संसद् छैन । यसैकारण निर्वाचनमार्फत जनताका प्रतिनिधि निर्वाचित गर्नुपर्छ र तीनै तहमा सरकार निर्माण गर्नुपर्छ । वर्तमान शासन व्यवस्था र लोकतन्त्रलाई बचाउन कांग्रेसको बहुमत आवश्यक छ,’ कांग्रेस कार्यकर्ता–समर्थक र मतदातालाई आह्वान गर्दै उनले भने ।
जनकपुरमा प्रतिज्ञासभालाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले भने – मेरो हृदयमा दुर्गानन्द झा, कामेश्वर–कुशेश्वरप्रति सम्मान छ । मधेशले जन्माएको कांग्रेसको एउटा कार्यकर्ता भएर सर्लाही ४ बाट उम्मेदवार बनेको हुँ । मधेश र कांग्रेसको सम्बन्ध नयाँ होइन । चुनाव जित्नलाई मात्र होइन, मधेशसँगै देशको अवस्था सुधार गर्न प्रतिज्ञा गर्न आएको हुँ । बदलिएको कांग्रेसले कसैसँग घृणा होइन प्रेम, निषेध होइन समावेश गरेर मुलुकलाई समृद्ध बनाउने प्रतिज्ञा गरेको छ । हामी एक्लैले देश बनाउन होइन, बरु एमाले, नेकपा, रास्वपा, जसपा सबै चाहिन्छ । देशभरिका वडा र सातै प्रदेश चाहिन्छ । तर, त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ ।
प्रतिज्ञापत्रमा के–के छन् ?
सम्मानित भएर बाँच्न पाउने नेपाल : देश–विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन् । हामी यस्तो समाजको निर्माण गर्नेछौँ जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैंगिक हिंसाबाट मुक्त हुनेछ ।
सपना देख्न सक्ने नेपाल : दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहसँगै अघिल्लो पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयत्नले ती सपनाहरू साकार हुनेछन् । राष्ट्रिय नवनिर्माणको भावनाले ओतप्रोत युवाहरू शासन र विकासका साझेदार बन्नेछन् ।
सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल : राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिका रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ ।
ओखती र ओत दिने नेपाल : स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ ।
छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल : हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महŒवपूर्ण लगानी मान्दछ । आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैनन् ।
वैयक्तिक र हेरफेरमुक्त विधिको शासन भएको नेपाल : सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालयलगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ ।
मौलिकतामा गर्व गर्ने आधुनिक
नेपाल : विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको, तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ ।
विश्वले सम्मान गर्ने स्वाभिमानी
नेपाल : हाम्रा छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाइनेछ ।
समृद्धिमा लम्कने नेपाल : हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुनेछ । सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुनेछ । कृषि, पर्यटन, ऊर्जा, आइटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको द्रुत विकास हुनेछ ।
पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल : युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन् । राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बिमा र भुक्तानीका झन्झट हटाई बजार र मूल्य सुनिश्चित गर्नेछ । नेपालको उत्पादनलाई विश्वबजारमा ‘ब्रान्ड’ बनाउने भिजन बोकेका कृषि–उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ ।