आज कांग्रेस र रास्वपाको चुनावी सभा

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

कांग्रेसले बुधबार प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दैे चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै छ । कांग्रेस मधेश प्रदेश समितिले मंगलबार पत्रकार सम्मेलन गरी जनकपुरधामस्थित तिरुहुतिया गाछीमा बुधबार आयोजित चुनावी सभामा प्रतिज्ञापत्र सार्वजनिक हुने जानकारी गराएको हो । सभालाई कांग्रेसको मधेशकेन्द्रित पहिलो औपचारिक चुनावी शक्ति प्रदर्शनका रूपमा लिइएको छ ।

मधेश प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आठै जिल्लाबाट नेता–कार्यकर्तालाई परिचालन गरिएको र कम्तीमा एक लाख जनसहभागिता रहने लक्ष्य राखिएको जानकारी दिए । ‘प्रदेशका सबै जिल्लाका संगठनात्मक संरचना सक्रिय पारिएको छ । यो कार्यक्रम सभा मात्र नभई आगामी निर्वाचनका लागि संगठन सुदृढीकरणको अभ्यास पनि हो,’ उनले भने । सभामा पार्टीका सभापति गगन थापासहित केन्द्रीय पदाधिकारीहरू उपस्थिति रहने जनाइएको छ । केन्द्रीय नेतृत्वको सहभागिताले मधेशमा कांग्रेसको चुनावी अभियान औपचारिक रूपमा तीव्र हुने विश्वास गरिएको छ ।

यादवका अनुसार सार्वजनिक गरिने प्रतिज्ञापत्रमा मधेशको समग्र विकासलाई प्राथमिकतामा राखिएको छ । विशेषगरी रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ तथा भण्डारण संरचना विस्तार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य पूर्वाधार विकास, लगानीमैत्री वातावरण निर्माण र सुशासनका विषय समेटिएका छन् । उनले मधेशमा देखिएको बेरोजगारी, कृषि उत्पादनमा स्थिरता तथा आधारभूत सेवा प्रवाहका चुनौतीलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम तयार पारिएको दाबी गरे । ‘मधेशको आर्थिक रूपान्तरणविना देशको समृद्धि सम्भव छैन भन्ने दृष्टिकोणका साथ प्रतिज्ञापत्र तयार गरिएको छ,’ उनले भने ।

कांग्रेसले सभालाई निर्वाचनअघि जनमत निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ । ‘कांग्रेस व्यवस्था होइन, अवस्था बदल्नुपर्छ भन्ने सोचका साथ चुनावी मैदानमा उत्रिएको छ,’ यादवले भने । उनका अनुसार देशलाई लयमा ल्याउन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न व्यवस्थाभन्दा पनि अवस्था परिवर्तन आवश्यक रहेको सन्देशसहित मधेशबाट चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्न लागिएको हो । 

‘जब–जब मधेशमा कांग्रेस बलियो हुन्छ, तब–तब देशभर राम्रो मतपरिणाम आएको इतिहास छ,’ उनले भने, ‘यो निर्वाचनमा पनि ०४८ कै जस्तो मतपरिणाम आउँछ । यसमा हामी ढुक्क छांँ । यसपालिको निर्वाचनमा देशका १६५ वटै निर्वाचन क्षेत्रमा कहीँ कुनै बागी उम्मेदवार छैनन्, कांग्रेसजन एकजुट भएर चुनावमा लागेका छन् ।’ 

रास्वपाले धनगढीमा आज चुनावी सभा गर्दै
धनगढी/ राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा बुधबार चुनावी सभा गर्दै छ । चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभाका लागि सभापति लामिछाने मंगलबार बेलुकी काठमाडौंबाट नियमित हवाई उडानमार्फत धनगढी आइपुगेका छन् । बालेन भने बुधबार बिहान आउने बताइएको छ । सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको धनगढीस्थित मैदानमा रास्वपाको परिवर्तन उद्घोष सभा हुन लागेको हो । बिहान ११ बजे सुरु हुने सभालाई सम्बोधन गरेपछि सभापति लामिछाने र बालेन सुर्खेत जाने बताइएको छ । सभा आयोजक समितिका संयोजक कवीन्द्र ठकुल्लाले सभा शक्ति प्रदर्शनभन्दा पनि विचार प्रवाहमा केन्द्रित रहने बताए । उनले धेरै ठाउँबाट मान्छे उतारेर सभामा शक्ति प्रदर्शन गर्न नखोजिएको बताए । 

सुझावित समाचार