जनअधिकार पार्टीले मधेशकेन्द्रित दलहरू परिवारवाद र आफन्तवादमै सीमित हुँदा मधेश प्रदेशमा अपेक्षाअनुसार विकास हुन नसकेको आरोप लगाएको छ।
सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीले संघीयता कार्यान्वयनआएपछि आफूलाई मधेशी भन्ने दलहरूले अधिकांश समय प्रदेश सरकारको नेतृत्व गरे पनि प्रदेशका कुनै पनि सूचकांकमा उल्लेख्य सुधार आउन नसकेको दाबी गरेको हो। घोषणापत्रमा प्रदेशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिएको छ।
पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले संघीयता लागू भएको लामो समय बितिसक्दा पनि प्रदेशको आन्तरिक स्रोतको दायरा विस्तार हुन नसकेको टिप्पणी गरे। उनले प्रदेशवासीले अझै सुशासनको अनुभूति गर्न नसकेको बताउँदै राजनीतिक आचरणमा सुधार तथा सुस्त अवस्थामा रहेको विकासीय कामलाई गति दिन आफू उम्मेदवार बनेको स्पष्ट पारे।
पत्रकार सम्मेलनमा उनले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
आजपा उम्मेदवारको समर्थन
यसैबिच, आमजनता पार्टी (आजपा)का तर्फबाट सप्तरी– २ का उम्मेदवार सुनीलराज दासले शरदसिंह यादवलाई समर्थन घोषणा गरेका छन्।
दासले आफू पार्टीको सप्तरी इन्चार्जसमेत रहेको जानकारी दिँदै समर्थनको निर्णय केन्द्रस्तरबाट नभई जिल्ला तहबाट गरिएको स्पष्ट पारे। उनले समानुपातिकतर्फ भने आजपाकै पक्षमा मत माग्ने बताए।