परराष्ट्रमन्त्री वालानन्द शर्माले प्रधानमन्त्री सुशीला कार्कीले पठाएको बधाई सन्देश बंगलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानलाई मंगलवार हस्तान्तरण गरेका छन् ।
बंगलादेशका लागि राजदुत घनश्याम भण्डारीसहित प्रधानमन्त्री रहमानसँग शिष्टाचार भेटका क्रममा बुझाएको प्रधानमन्त्रीको सन्देशमा पारस्परिक सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनामा सहकार्य गर्दै दुवै देश र जनताको हितमा सम्बन्ध थप सुदृढ बनाउने उल्लेख छ ।
नेपाली दुताबासका अनुसार परराष्ट्रमन्त्री शर्माले रहमानलाई निर्वाचनको सफल आयोजना र लोकतान्त्रिक प्रक्रियामा सहज सत्ता हस्तान्तरण भएको भन्दै बंगलादेश सरकारको प्रशंसा गरेका थिए। बंगलादेशका प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा परराष्ट्रमन्त्रीप्रति आभार व्यक्त गर्दै आफू र सरकारप्रति नेपाल सरकार र नेपाली जनताको ऐक्यबद्धता तथा सद्भाव झल्काएको बताएका थिए ।
प्रधानमन्त्री रहमानले दुई देशबीच भविश्यमा निकटरुपमा सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए ।
दुई देशबचि दीर्घकालीन साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहो¥याउँदै परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क (कनेक्टिभिटी), शिक्षा तथा पर्यटन लगायतका क्षेत्रमा द्विपक्षीय सहकार्य अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताएका थिए । प्रधानमन्त्री रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचनको सफलताका लागि शुभकामना व्यक्त गरे ।
परराष्ट्रमन्त्री शर्माले मंगलवारै बंगलादेशको प्रमुख प्रतिपक्ष दलका नेता डा. शफिकर रहमानसँग पनि भेटवार्ता गरेका छन् ।