धनकुटामा मतदाता शिक्षा कार्यक्रम सुरु

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

आसन्न फागन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी धनकुटामा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ। मतदाताहरूलाई मतदान प्रक्रियामा सहज, सरल र मतपत्र बदरको संख्या घटाउने लक्ष्यका साथ निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो। मतदाता शिक्षा कार्यक्रम धनकुटाका सातै पालिकाका ६० वटै वडामा सञ्चालन भइरहेको छ। निर्वाचनको क्रममा हुने बदर मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।

मतदाता शिक्षा कार्यक्रममा मतदातालाई मतदान प्रक्रियाका बारेमा जानकारी गराउने, मतपत्र प्रयोग सही तरिकाले गर्ने विषयमा जानकारी दिने, मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउनेलगायतका कार्यहरू गरिनेछ। खास गरेर नयाँ मतदाता, पहिलोपटक मतदानमा सहभागी हुने युवा, जेष्ठ नागरिक तथा साक्षरता कम भएका मतदाताहरूलाई व्यावहारिक र अभ्याससहित सिकाउने गरिन्छ। 

मतदाता शिक्षाको लागि धनुकटाका ७ वटै स्थानीय तहमा अनुगमनका लागि निर्वाचन सम्पर्क व्यक्ति एक/एकजना खटाइएको छ भने ६० वटै वडामा मतदाता शिक्षाका लागि एक/एकजना स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ। मतदाता स्वयंसेवीमा बालविकास सहजकर्ता, स्वास्थ्य स्वयंसेविका र सामाजिक परिचालकहरूलाई तोकिएको छ। मतदाता शिक्षामा खटिने स्वयंसेवकहरूलाई नगद १० हजार र अनुगमनकर्तालाई ५ हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।

स्वयंसेवकहरूले मतदाताको घर-घरमा पुगेर नमुना मतपत्रको माध्यमद्वारा निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने गर्दछन्। एक मात्र प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख १८ हजार ४२५ जना मतदाता रहेका छन् भने ११९ मतदानस्थल र १६६ मतदान केन्द्र रहेका छन्। त्यस्तै, जिल्ला कारागार धनकुटाका लागि एक र निर्वाचनमा नखटिएका कर्मचारीहरूको लागि एक गरी २ वटा अस्थायी मतदानस्थल कायम गरिएको छ।
 

सुझावित समाचार