बर्दियामा हिउँदे मकैप्रति किसानको आकर्षक बढ्दो

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

बर्दियामा पछिल्लो समयमा हिउँदे मकै लगाउने किसानको संख्या बढ्दै गएको पाइएको छ । मकैबाट राम्रो उत्पादन  हुने भएकाले पछिल्लो समयमा हिउँदे मकै लगाउने किसानको संख्या बढ्दै गएको पाइएको हो । केही समयअगाडि खाली हुने गरेको जग्गामा अचेल मकै लगाएको पाइन्छ भने गहुँलगायतका अन्य बाली लगाउने खेतबारीमा समेत मकै लगाउन थालेको देखिन्छ ।

विगत तीन वर्षदेखि मकै खेती गर्दै आएका गुलरिया नगरपालिका– ४ का अमर लम्सालले अन्य खेतीबाट भन्दा मकैबाट राम्रो उत्पादन हुने भएकोले मकै खेती गर्दै आएको जानकारी दिए । उनले भने, ‘घरमा गाई–भैंसी छन् त्यसका लागि दाना किन्नुपर्दथ्यो । मकै खेती गरेपछि त्यो बाध्यता अन्त्यसमेत भएको छ भने मकैबाट विभिन्न खाद्यान्नको परिकार बन्ने भएकोले खानका लागि समेत मकै प्रयोग हुँदै आएको छ ।’

गुलरिया नगरपालिका– ८ का किसान पर्शुनारायण चौधरीले मकैबाट उत्पादन राम्रो हुने भएकोले मकैको खेती गरेको बताए। उनले भने, ‘गत वर्ष आठ कट्ठामा मकै खेती गरेको थिएँ,  २५ क्विन्टल मकै उत्पादनमा भयो । त्यही भएर अहिले पनि  मकै लगाएको छु।’  खेतीबाट उत्पादन राम्रो हुने भए पनि समयमा मल नपाउने समस्या छ । मल पाइयो भने पर्याप्त मात्रामा नपाइने गरेको चौधरीले  गुनासो गरे।

एकीकृत कृषि तथा पशुपति विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं  सूचना अधिकारी  फिर्तुमान चौधरीले बर्दियामा गत आर्थिक वर्षमा ०८१/८२ मा  चार हजार १७० हेक्टरमा मकै खेती भएको बताए। उनले भने, ‘मकैको उत्पादन राम्रो हुने भएकोले पछिल्लो समय किसान मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन् । औसतमा प्रतिहेक्टर ४.९५ मेटिक्टन मकै उत्पादन हुने गरेको छ ।’ 

बर्दियाका आठवटै स्थानीय तहमा मकै  खेती हुने गरेको छ । किसानले कञ्चन, स्टार– ९, सुर्वण, राजकुमार रामपुर, रामपुर  हाइब्रिट- १६  लगायतका  जातका मकै लगाउँदै आएको एकीकृत कृषि तथा पशुपति विकास कार्यालयले जनाएको छ ।

सुझावित समाचार