आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका विभिन्न राजनीतिक दल र तिनका उम्मेदवारले मतदाता भेटघाट तथा चुनावी प्रचारलाई तीव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टीलगायतका दलले उम्मेदवार सार्वजनिक गर्दै प्रचार अभियान अघि बढाएका हुन् ।
यसपटक ताप्लेजुङमा उम्मेदवारी दर्ता गराएका अधिकांश उम्मेदवार प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गर्दै छन् । नेपाली कांग्रेसले गजेन्द्रप्रसाद तुम्याहाङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ भने नेकपा (एमाले)का तर्फबाट क्षितिज थेबे चुनावी मैदानमा छन् । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले खेलप्रसाद बुढाक्षेत्री ‘पराग’लाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इ. वीरेन्द्र श्रेष्ठ र श्रम संस्कृति पार्टीबाट सन्तोष राई उम्मेदवार बनेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो–आफ्नो कार्यक्रम सार्वजनिक गर्दै चुनावी दौडलाई तीव्र बनाएका छन् ।
एमालेका उम्मेदवार क्षितिज थेबे आफू ताप्लेजुङको आवाज बन्ने प्रतिबद्धता व्यक्त गाउँगाउँमा पुगेर भोट मागिरहेका छन् । सिदिङ्वा गाउँपालिका साब्लाखुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थेबेले युवाको भविष्य, सामाजिक न्याय र समृद्धिका पक्षमा संसदमा आवाज उठाउने अठोट व्यक्त गरेका छन् । ग्रामीण भेगमै जन्मेर हुर्किएका थेबेले स्थानीय आवश्यकताअनुसार विकासलाई गति दिने धारणा राखेका छन् । उनले घरदैलो कार्यक्रममा मतदाताका समस्या सुन्ने, स्थानीय संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष जोडिने प्रयास गरेका छन् । एउटै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ जनाको उम्मेदवारी परेको र थेबे कान्छा उम्मेदवारमध्ये एक रहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले पनि आमसभा तथा भेटघाट कार्यक्रममार्फत चुनावी अभियान अघि बढाइरहेका छन् । नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीले घरदैलोकेन्द्रित प्रचार रणनीति अपनाएका छन् । उता, राष्ट्रिय स्वतन्त्र पार्टीले आमसभाको तालिका सार्वजनिक गरेको छ । विगतका निर्वाचनमा प्रमुख प्रतिस्पर्धा कांग्रेस र एमालेबिच केन्द्रित रहँदै आएको भए पनि यसपटक नयाँ अनुहार र बहुदलीय प्रतिस्पर्धाले ताप्लेजुङको चुनावलाई थप रोचक बनाएको छ । अधिकांश उम्मेदवार पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएकाले यसपटकको प्रतिस्पर्धालाई विशेष अर्थले हेरिएको छ ।