- जेन–जी आन्दोलनको मागअनुसार दुई वर्षअघि हुनलागेको निर्वाचनमा एमाले, कांग्रेस, नेकपा, रास्वपा र जसपा नेपालबिच कडा प्रतिस्पर्धा
आगामी २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा बारा जिल्लाका चारवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त छन् । मतदातासँग भेटघाट गर्ने, समस्या सुन्ने, समाधानको प्रतिबद्धता व्यक्त गर्ने मात्र होइन, उम्मेदवारहरू नयाँ योजना र आश्वासन बाँड्दै मतदाताको मन जित्न घरदैलोमा दौडधुप गरिरहेका छन् । यतिवेला बाराका चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।
चार निर्वाचन क्षेत्र रहेको बारामा यसअघिका सांसद बारा १ का उम्मेदवार अच्युतप्रसाद मैनाली, बारा ३ की ज्वालाकुमारी साह र तत्कालीन एकीकृत समाजवादीबाट पुन: एमालेमा समाहित भएका बारा ४ का कृष्णकुमार श्रेष्ठ किसानलाई आफ्नो विरासत राख्ने चुनौती छ । किसानको आगमनसँगै बाराका तीन क्षेत्रमा यसअघिको नतिजालाई कायम गर्ने योजनामा एमाले छ ।
बारा २ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपचुनावमार्फत विजयी भएका थिए । जसपा नेपालले योपटक नयाँ उम्मेदवार उठाएको छ । यसअघि बारामा सफलता हात पार्न नसकेको कांग्रेस योपटक जितको खोजीमा रहनेछ । तर, जेन–जी विद्रोहसँगै पुराना दलप्रति मतदाता अझै खुल्न सकेका छैनन् । यसको फाइदा रास्वपाले लिने देखिएको छ । जसकारण बारामा चारपक्षीय भिडन्तको आकलन गरिएको छ ।
बाराका चारैवटा निर्वाचन क्षेत्रबाट ११० जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । स्वतन्त्र उम्मेदवारमध्ये कोही डमी उम्मेदवार छन् । दलले साधन–स्रोतको प्रयोग गर्न डमी उम्मेदवार दर्ता गर्न लगाउने चलन छ । तर, कोही भने दलका उम्मेदवारलाई नै चुनौती दिने गरी प्रतिस्पर्धा गर्न मैदानमा होमिएका छन् । जेन–जी आन्दोलनका कारण दुई वर्ष पहिल्यै हुनलागेको निर्वाचनमा नयाँ पुस्ता र नयाँ दलको चर्चा भए पनि बारामा भने पुरानैको वर्चस्व देखिएको छ । एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नै प्रतिस्पर्धामा देखिएका छन् । यी पाँच पार्टीले क्षेत्रदेखि वडासम्म निर्वाचन परिचालन कमिटी तयार गरेर प्रचारप्रचार तीव्र पारेका छन् ।
बारा १ मा त्रिपक्षीय भिडन्त
बारा १ मा प्रमुख दलसहित २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये सातजना स्वतन्त्र उम्मेदवार छन् । यो क्षेत्रमा एमाले, कांग्रेस, नेकपा, रास्वपा र जसपा नेपाल कडा प्रतिस्पर्धामा छन् । एमालेका अच्युतप्रसाद मैनाली, कांग्रेसका शम्भुबहादुर बुढाथोकी, जसपा नेपालबाट रामबाबुप्रसाद यादव, रास्वपाका गणेश धिमाल र नेपाली कम्युनिस्ट पार्टीका सन्तोष दंगाल उम्मेदवार बनेका छन् । जसपा नेपाल अन्य दलका निम्ति अर्काे चुनौती हो । पहिलो संविधानसभा निर्वाचनमा भाग लिएका यादवसँग चुनावी अनुभव छ । मधेशकेन्द्रित दल भएकै कारण जसपासँग राम्रो मतभार छ । जसपाको मत यसअघि निर्वाचनमा निर्णायक मतको रूपमा साबित हँुदै आएको थियो । पाँच पालिकाका ४८ वडा रहेको यस क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, जनमत पार्टी, आमजनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन र प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पनि क्रियाशील छन् । अघिल्लोपटक जितेको क्षेत्रमा विरासत जोगाउने चुनौती एमालेसामु छ । मैनालीले तेस्रोपटक निर्वाचनमा भाग लिएका हुन् । कांग्रेसका उमाकान्त चौधरी ०७४ मा विजयी भएका थिए । कांग्रेसलाई विरासत फर्काउने जिम्मा शम्भुबहादुर बुढाथोकीलाई छ । तर, रास्वपाले पनि चुनौती दिने देखिएको छ । ०७९ पराजित गणेश धिमाललाई रास्वपाले पुन: उम्मेदवार बनाएको छ ।
उपेन्द्र सप्तरी गएपछि जसपालाई विरासत जोगाउन चुनौती
बारा २ मा १६ दल र १३ स्वतन्त्र गरेर २९ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ कांग्रेस, एमाले, प्रगतिशील लोकतान्त्रिक पार्टी र जसपाबिच प्रतिस्पर्धा हुने देखिएको छ । बारा २ जसपा नेपालबाट हालका उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएको क्षेत्र हो । यो क्षेत्रमा ०८० को उपचुनावमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए । उनी यसपटक सप्तरी ३ बाट उम्मेदवार बनेका छन् ।
जसपाले नयाँ उम्मेदवार दिएका कारण विरासत जोगाउने चुनौती छ । यसपटक जसपाबाट रामकिशोरप्रसाद यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट शिवचन्द्रप्रसाद कुशवाहा, एमालेबाट बलवीरप्रसाद चौधरी र कांग्रेसका भैयारामप्रसाद यादवबिच कडा प्रतिस्पर्धा हुने अनुमान छ । ६ पालिकाका ४४ वडा रहेको यस क्षेत्रमा एक लाख १३ हजार ८३९ मतदाता छन् । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट रमेशप्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दनकुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबाबुप्रसाद साह तेली, जनमत पार्टीबाट राजेश साह, नेपाल मजदुर किसान पार्टीबाट चन्दनकुमार यादव, मंगोल नेसनल अर्गनाइजेसनबाट राधादेवी महरा उम्मेदवार छन् ।
बारा ३ मा बहुपक्षीय भिडन्तले चुनाव रोचक बन्दै
बारा ३ मा एमाले र कांग्रेसको पकड बलियो भए पनि बहुपक्षीय भिडन्त हुने देखिन्छ । दुवै दलले पूर्वमन्त्री तथा प्रभावशाली नेताहरूलाई उम्मेदवार बनाएका छन् । कांग्रेसबाट फरमुल्लाह मन्सुर उम्मेदवार बनेका छन् । ०४८ देखि निरन्तर यस क्षेत्रबाट टिकट पाउँदै आएका मन्सुरले पार्टीभित्रको प्रतिस्पर्धाका बाबजुद टिकट सुरक्षित गरेका हुन् । तर, उनको उम्मेदवारीसँगै कांग्रेसभित्र संस्थापन देउवा समूह र नयाँ नेतृत्वबिचको मतभेद सतहमा आएको छ । बारा जिल्ला सभापति राजेश राय यादवसहित संस्थापन समूहका केही नेताहरू चुनावी अभियानमा सक्रिय नदेखिएको चर्चा छ ।
एमालेबाट निवर्तमान सांसद ज्वालाकुमारी साह उम्मेदवार बनेकी छिन् । अघिल्लो कार्यकालमा सांसद रहेकी साहले क्षेत्रका विभिन्न विकास योजनामा पहल गरेको एमालेको दाबी छ । यस क्षेत्रमा जसपा नेपालले रामबाबुकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीले भरत साह, राष्ट्रिय स्वतन्त्र पार्टीले अरबिन्द साहलाई मैदानमा उतारेको छ । राप्रपाले राजेन्द्रप्रसाद जैसवार, जनमत पार्टीले प्रमोदप्रसाद गुप्ता, नेमकिपाले रामएकवाल राउतलाई मैदानमा उतारेको छ । तीन पालिकाका ३७ वडा रहेको यस क्षेत्रमा एक लाख १३ हजार ५२१ मतदाता छन् ।
बारा ४ मा अनुभवी र नयाँ उम्मेदवारबिच टक्कर
६ पालिकाका ३८ वडा रहेको बारा ४ मा एक लाख १४ हजार ४३९ मतदाता छन् । यो क्षेत्रमा पुराना र केही नयाँ अनुहार र स्वतन्त्र गरी ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा देखिएका छन् । ठुला दलहरूले अनुभवी नेताहरूलाई नै अघि सारेका छन् । केही दलले नयाँ उम्मेदवारमार्फत प्रतिस्पर्धा रोचक बनाउने तयारी गरेका छन् । ०७९ को निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीबाट विजयी बनेका कृष्णकुमार श्रेष्ठ किसान यसपटक एमालेबाट उम्मेदवार छन् । उनी यो क्षेत्रमा विजय यात्रा दोहोर्याउने दाउमा छन् । तर, उनलाई रास्पवाका रहबर अन्सारी, नेकपाका अजय कुशवाह र कांग्रेसका श्यामबाबु गुप्ताले चुनौती दिइरहेका छन् । एमालेमा किसानको आगमनसँगै बाराका तीन क्षेत्रमा अघिल्लो नतिजालाई कायम गर्ने योजनामा एमाले देखिन्छ । त्यस्तै, राप्रपाबाट दिलीपकुमार शर्मा नेपाल, जसपा नेपालबाट सञ्जु साह कानु, जनमत पार्टीबाट हसनजान मिया, राष्ट्रिय जनमोर्चाबाट सरस्वती उपाध्याय, प्रलोपाबाट अवधकिशोर प्रसाद कुशवाह मैदानमा छन् ।
प्रचारभन्दा परिणाममुखी काममा एमालेको जोड छ : मनोज पौडेल, सचिव, एमाले मधेश प्रदेश
एमाले प्रचारमुखी नभई कार्यमुखी दल हो । संगठित ढंगले चुनावी अभियान अघि बढाएका छौँ । जिल्ला, क्षेत्र, पालिका, वडा र बुथ तहसम्म प्रचार–प्रसार समिति गठन गरी सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ । पार्टीका चारैजना उम्मेदवार निरन्तर घरदैलो अभियानमा सक्रिय छन् । विगतमा एमालेले गरेका विकास निर्माणका काम, सुदृढ संगठन र अनुशासित संरचनाका कारण यसपटक पनि जनताबाट सकारात्मक समर्थन प्राप्त हुने विश्वास छ ।
सुशासन र दिगो विकासको एजेन्डा जनताले रुचाएका छन् : राजेश रौनियार, सचिव, कांग्रेस बारा
जिल्लाका चारै क्षेत्रलाई समेटेर जिम्मेवारी बाडफाँट गरिएको छ र नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा प्रचार–प्रसारमा खटिएका छन् । जिल्ला, क्षेत्र, पालिका, वडा र बुथस्तरमा प्रचार–प्रसार समिति गठन गरी सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ । पार्टीको सुशासन र दिगो विकासको एजेन्डा लिएर उम्मेदवारहरू घरदैलोमा पुगिरहेका छन् । मतदाताले हाम्रो नारा रुचाएका छन् । कांग्रेस नयाँ भएर आएको छ । कांग्रेस काममा विश्वास गर्ने भएकाले फिल्डमा बलियो स्थिति बनाइरहेका छौँ ।
पार्टीको एजेन्डाका कारण परिणाम हाम्रो पक्षमा आउँछ : रविराज दगाल, नेता नेकपा
पार्टीको एजेन्डामा आधारित कामले मुलुकमा सकारात्मक परिणाम ल्याएको छ । यसले हाम्रो पक्षमा लहर सिर्जना भएको छ । चारै क्षेत्रलाई समेटेर जिम्मेवारी बाँडफाँट गरिएको छ । पार्टीका उम्मेदवार नयाँ पुस्ता र अनुभवी छन् । पार्टीले अघि सारेका विकास र सुशासनसम्बन्धी एजेन्डा नै मुलुकलाई अगाडि बढाउने आधार बनेको छ । पार्टी सरकारमा रहँदा गरेका लोकप्रिय कार्यक्रम र योजनाले जनमानसमा नेकपाप्रतिको विश्वास बढाएको छ ।
जनमत हाम्रो साथमा छ, विजय सुनिश्चित छ : रामहरि खरेल, सचिव, रास्वपा बारा
देश परिवर्तन र सुशासनको स्पष्ट लक्ष्यसहित रास्वपाका उम्मेदवारहरू यतिवेला जनताको घरदैलोमा सक्रिय छन् । विगतमा जनताले विभिन्न दललाई विश्वासका साथ मत दिए पनि अपेक्षित परिणाम प्राप्त गर्न सकेनन् । हामी सत्ता होइन, प्रणाली सुधार र देश निर्माणका लागि चुनावमा होमिएका हौँ । रास्वपा नयाँ सोच, स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्वसहित अघि बढिरहेको छ । जनताको अपार समर्थनका कारण बाराका चारवटै क्षेत्रमा पार्टीको जित सुनिश्चित छ ।