नेपाली जनता दलले संविधानलाई लिकमा ल्याउन निष्पक्ष, स्वच्छ र धाँधलीरहित निर्वाचनबाहेक अर्को विकल्प नभएको बताएको छ । सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता दलले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचारको अन्त्य, बेरोजगारीको अन्त्य, सुशासनको स्थापनाको पक्षमा गम्भीर रहेको जनाएको छ ।
अध्यक्ष एवं पूर्वसांसद नवराज सुवेदीले सर्वसाधारण जनताको दैनिक जनजीवनमा आइपरेका समस्याका विषयमा पार्टी गम्भीर भएको बताए । मौलिक समाजवाद, प्रकृतिवाद र दिगो विकास, वैज्ञानिक मानवतावाद, सामाजिक न्याय र समान अवसरको नीति पार्टीले लिएको सुवेदीले बताए ।
देश विकासको मेरुदण्ड मानव संसाधन भएको भन्दै जनता दलले शिक्षामा पूर्ण रूपमा सरकारको दायित्व रहनुपर्नेमा जोड दिएको छ । शिक्षा प्रणालीलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सुलभ, सरल, वैज्ञानिक र व्यावहारिक स्वास्थ्य बिमा वा अन्य भरपर्दाे आर्थिक माध्यमको ग्यारेन्टी गरी प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।
जनता दलले २१ फागुनको निर्वाचनका लागि समानुपातिकतर्फ ४७ उम्मेदवार उठाएको छ भने प्रत्यक्षतर्फ कोशी, मधेश र लुम्बिनी प्रदेश समेट्ने गरी उदयपुर १, सप्तरी ४, रौतहट १, रुपन्देही २ र प्युठानमा गरी पाँच उम्मेदवार उठाएको छ ।