साबिक विजेता भारतले आइसिसी टी–२० विश्वकपमा आइतबार छिमेकी प्रतिद्वन्द्वी पाकिस्तानलाई ६१ रनले हराउँदै समूह ‘ए’बाट सुपर ८ को स्थान सुरक्षित गरेको छ । भारतले लगातार तीन खेल जित्दै ६ अंक जोडेको छ । पाकिस्तानले तीन खेलमा एक हार र दुई जितका साथ ४ अंक बनाएको छ । कोलम्बोको प्रेमादासा रंगशालामा भारतले पहिलो ब्याटिङ गरी सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।
प्रत्युत्तरमा खराब ब्याटिङ प्रदर्शन गरेको पाकिस्तान १८ ओभरमा ११४ रनमै समेटिँदा भारत ६१ रनको अन्तरले विजयी भयो । पाकिस्तानले यसअघि भारतसँग नखेल्ने निर्णय लिएको थियो । आइसिसीको उपस्थितिमा पाकिस्तानले भारतसँग कोलम्बोमा खेल्न सहमति जनाएको थियो । त्यसपछि मात्र यी दुई प्रतिद्वन्द्वीबिच खेल सम्भव भएको हो ।
आइसिसी टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि लगातार जित निकालेको छ । अहिलेसम्म उनीहरूबिच नौपटक प्रतिस्पर्धा हुँदा भारतले आठ र पाकिस्तानले एकपटक जित निकालेको छ । यसअघि ब्याटिङ गरेको भारतले पहिलो ओभरबाटै स्पिनरको सामना गरेको थियो । पाकिस्तानका कप्तान सलमान अघाले भारतीय ब्याट्सम्यानमाथि दबाब राख्न आफूले नै बलिङ गरे । उनको रणनीतिले सुरुवातमा काम पनि ग¥यो । पहिलो ओभरको छैटौँ बलमा उनले फर्ममा रहेका अभिषेक शर्मालाई शून्यमा साहिन साहबाट क्याच आउट गराए ।
पहिलो ओभरपछि भारतका ओपनर ईशान किसन र तिलक बर्मा पाकिस्तानी बलरमाथि आक्रामक रूपमा प्रस्तुत भए । ईशान र तिलकले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । भारतले ईशानलाई ९.४ ओभरमा गुमाएको थियो । ईशानले ४० बलमा १० चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ७७ रन जोडेका थिए । तिलक र कप्तान सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरी टोलीलाई १४.२ ओभरमा १२६÷३ को स्थितिमा राखे । तिकलले २४ बलमा २५ रन जोडे ।
हार्दिक पान्ड्या सामना गरेको बलमै सैम अयुबबाट आउट भए । सूर्यकुमारले २९ बलमा तीन चौका प्रहार गरी ३२ रन जोडे । शिवम दुबे र रिंकु सिंह आक्रामक देखिए । शिवमले १७ बलमा एक छक्का र तीन चौका प्रहार गरी २७ रन बनाए । रिंकुले चार बलमा समान एक छक्का र चौका प्रहार गरी ११ रन जोडे । बलिङमा अयुबले ४ ओभरमा २५ रन दिएर तीन विकेट हात पारेका थिए ।
पाकिस्तानको फितलो ब्याटिङ
१७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानको ब्याटिङ निकै फितलो रह्यो । पाकिस्तानले पावर प्लेमै चार विकेट गुमाएको थियो । हार्दिक र जसप्रीत बुमराहले सुरुवातै कसिलो बलिङ गर्दा पाकिस्तानले उत्कृष्ट सुरुवात गर्न सकेन । सहिबजादा फहरान शून्य, सैम अयुब ६, कप्तान सलमान ४ र बाबर अजाम ५ रनमा आउट भए । उस्मान खान र सादाव खानले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गर्दै टोेलीलाई ३४–४ बाट ७३–५ को स्थितिमा राखे । उस्मानले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरी ४४ रनको योगदान दिए ।