आजबाट मतदाता शिक्षा कार्यक्रम, बदर मत घटाउन मकवानपुरमा १०२ वडामा स्वयंसेवक परिचालन

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ४.४६ प्रतिशत मत बदर भएको मकवानपुरमा बदर मत घटाउने लक्ष्यसहित आज आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै छ । १८ दिनपछि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेश निर्वाचन कार्यालय, हेटौँडाले कार्यक्रम सुरु गर्न लागेको हो ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदाता शिक्षा प्रभावकारी बनाउन प्रत्येक पालिकाबाट एक–एकजना अनुगमनकर्तालाई तालिम दिइसकिएको छ । तालिमप्राप्त अनुगमनकर्ताले आफ्नो पालिकाको प्रत्येक वडाबाट एक–एकजनालाई तालिम दिएपछि वडा तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए ।

उनका अनुसार प्रत्येक वडामा बालविकास सहजकर्ता वा महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकका रूपमा परिचालन गरिनेछ । १० पालिकाका १०२ वडामा एक–एकजना स्वयंसेवक खटाइने कार्यालयले जनाएको छ ।

स्वयंसेवकहरूले घरदैलोमार्फत मतदातालाई नमुना मतपत्र प्रयोग गरेर मतदान प्रक्रिया, मतपत्र कसरी सही तरिकाले छाप लगाउने र मत बदर हुन नदिने उपायबारे जानकारी गराउनेछन् । कार्यक्रमको अनुगमन निर्वाचन कार्यालयबाट तालिमप्राप्त अनुगमनकर्ताले गर्ने ढकालले बताए ।

‘मतदान प्रक्रियालाई सहज र सरल बनाउने, मतदातालाई सचेत गराउने र बदर मतको प्रतिशत घटाउने उद्देश्यले फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ,’ प्रमुख ढकालले भने । मतदाता शिक्षाले निर्वाचनमा सहभागिता वृद्धि र मतको गुणस्तर सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने कार्यालयको अपेक्षा छ ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लाको कुल मतदाता संख्या तीन लाख १५ हजार ३३४ छ। तीमध्ये एक लाख ५३ हजार ३७६ महिला र पाँचजना अन्य मतदाता रहेका छन् । निर्वाचन कार्यालयले मतदातालाई मताधिकारको महत्त्व बुझेर सचेत रूपमा मतदान प्रक्रियामा सहभागी हुन पनि मतदाताहरूलाई आग्रह गरेको छ।

सुझावित समाचार