आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डमाथि ठुलो अन्तरको जित निकालेको छ। भारतको अहमदाबाद मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले सात विकेटले न्युजिल्यान्डलाई पराजित गरेको हो।
न्युजिल्यान्डले दिएको १७६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.१ ओभरमा सो लक्ष्य सहजै पार गरेको हो। यस जितसँग दक्षिण अफ्रिका सुपर आठमा जाने लगभग पक्का भएको छ। समूह ‘डी’मा रहेको उसले लगातार तीन खेल जितिसकेको छ। अब उसको खेल युएईसँग बाँकी छ।
उता न्युजिल्यान्डले भने सुपर आठमा आफ्नो स्थान पक्का गर्न चौथो खेलमा क्यानडलाई हराउनुपर्नेछ। उसले तीन खेलमा दुई खेल जितिसकेको छ।
यही समूहका रहेका अफगानिस्तान र क्यानडाले दुई खेलमा दुवै खेल हारेका छन्। युएईले एक खेल जितेको छ।
डी ककले तोडे धोनीको रेकर्ड
शनिबारको खेलमा दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डी ककले भारतीय खेलाडी महेन्द्रसिंह धोनीले बनाएको रेकर्ड तोडेका छन्। टी–२० विश्वकपमा सबैभन्दा धेरै आउट गर्ने रेकर्ड उनले तोडेका हुन्। धोनीले विश्वकपमा ३२ जनालाई स्टम्पिङ तथा क्याचआउट गराएकोमा शनिबारको खेलपछि डी ककले ३३ जनालाई आउट गराएर धोनीको रेकर्ड तोडेका हुन्।