बागमतीमा २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

जोखिमकाआधारमा कडा सुरक्षा घेराबन्दी, दुर्गम क्षेत्रमाविशेष तयारी

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा मात्रै २५ हजार ४४७ जना सुरक्षाकर्मी खटाइनेछन्।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन विस्तृत सुरक्षा योजना तयार गरिएको जानकारी दिए। उनका अनुसार निर्वाचन क्षेत्रको भौगोलिक अवस्था, सुरक्षा संवेदनशीलता, हेभिवेट उम्मेदवारको क्षेत्र तथा सम्भावित जोखिमका आधारमा मतदानस्थलको वर्गीकरण गरी सुरक्षा रणनीति बनाइएको छ।

प्रहरीका अनुसार नेपाल प्रहरीबाट नाै हजार ३९ र निर्वाचन प्रहरीबाट १६ हजार ४३५ जना गरी कुल २५ हजार ४४७ सुरक्षाकर्मी परिचालन गरिनेछ। आवश्यक परे रिजर्भ फोर्ससमेत तयारी अवस्थामा राखिने जनाइएको छ। मतदानस्थलमा सुरक्षा घेरा, नियमित गस्ती, मोबाइल टोली तथा आकस्मिक प्रतिक्रिया समूह (क्विक रेस्पोन्स टिम) सक्रिय रहनेछन्।

हालैका आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीबारे उठेका आशंकाप्रति प्रतिक्रिया दिँदै प्रहरी प्रमुख रेग्मीले निर्वाचन सुरक्षामा कुनै असर नपर्ने स्पष्ट पारे। उनका अनुसार लुटिएका अधिकांश हतियार फिर्ता हुने क्रममा छन् र सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन दिइनेछैन।

२८४ मतदानस्थलमा सञ्चार समस्या

प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका अनुसार उपत्यकाबाहेक १० जिल्लामा एक हजार २८८ मतदानस्थल रहेका छन्। तीमध्ये २८४ मतदानस्थलमा प्रहरी सञ्चार सेटबाट प्रत्यक्ष सम्पर्क हुन सक्दैन।

नेपाल टेलिकमको नेटवर्क नटिप्ने १२ र एनसेलको नेटवर्क नटिप्ने २३५ मतदानस्थल रहेका छन्। दुवै सेवाप्रदायकको नेटवर्क उपलब्ध हुने मतदानस्थल एक हजार २१८ रहेका छन्।

प्रहरी प्रवक्ता नान्तिराज गुरुङका अनुसार दोलखा र रामेछापका केही दुर्गम मतदानस्थलमा सञ्चार सुनिश्चित गर्न दुई वटा स्याटेलाइट फोन आवश्यक पर्ने देखिएको छ। दुर्गम तथा सञ्चार पहुँच कमजोर क्षेत्रहरूमा थप सुरक्षा सतर्कता अपनाइएको उनले बताए।

दुर्गम क्षेत्रमा पहुँच चुनौती

प्रदेशका ३१५ मतदानस्थलमा मात्रै हेलिप्याड सुविधा उपलब्ध छ। १९ मतदानस्थलमा सडक पुगेको छैन भने १३ मतदानस्थलमा कुनै पनि सवारीसाधन जान सक्दैन।

धादिङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रुबीभ्यालीका आठ मतदानस्थलमा पैदलमार्फत पुग्नुपर्ने अवस्था छ। दोलखाका चार र रसुवाको एक मतदानस्थलमा सडक सुविधा नभएको जनाइएको छ।

यस्तै, २०८ मतदानस्थलमा साना चारपांग्रे सवारी पुग्ने र एक हजार ६७ मतदानस्थलमा ठुला सवारीसाधन पुग्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय उच्च सतर्कतामा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुझावित समाचार