एन्फा महिला च्याम्पियन : एनआरटीको विजयी सुरुवात

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

एन्फा महिला  च्याम्पियन प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले सशक्त प्रदर्शन गर्दै गाईघाट एफसीलाई २–० गोलले पराजित गरी विजयी सुरुवात गरेको छ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा सम्पन्न खेलमा एनआरटीले संगठित र आक्रामक खेल प्रस्तुत गर्दै खेलको अधिकांश समय आफ्नाे नियन्त्रणमा राख्यो।

खेलको ४७औँ मिनेटमा जर्सी नम्बर ११ की प्रतीक्षा ठकुरीले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि खेल थप रोमाञ्चक बन्दै गयो। ७९औँ मिनेटमा जर्सी नम्बर ८ की सुशीला केसीले अर्को उत्कृष्ट गोल गर्दै एनआरटीको जित सुनिश्चित गरिन्।

गाईघाट एफसीका खेलाडीहरूले उत्साहजनक खेल देखाए पनि गोलका अवसर सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्नुपर्यो।

उत्कृष्ट प्रदर्शनका लागि एनआरटीकी प्रतीक्षा ठकुरी ‘म्यान अफ दी म्याच’ घोषित भइन्। यस जितसँगै एनआरटीले प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको छ। अब फागुन ४ गते हुने आगामी खेलमा एनआरटीले त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताअन्तर्गत फागुन २ गते पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी रियलबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र छहारी एफसी आमने–सामने हुनेछन्।

प्रतियोगिताको औपचारिक उद्घाटन फागुन १ गते दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेलले गरे। प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। एन्फाका महासचिव किरण राईका अनुसार प्रतियोगिताले महिला फुटबलको स्तर उकास्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार