स्थापना दिवस मनाउन बाहिनीपति पोखरेल सिन्धुपाल्चोकमा

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल मकवानपुरका बाहिनीपति नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल सिन्धुपाल्चोक आएका छन्। सशस्त्र प्रहरी नेपाल नं. १६ गण हेडक्वार्टर बन्देउको १७औँ स्थापना दिवस मनाउन पोखरेल सिन्धुपाल्चोक आएका हुन्। मित्रराष्ट्र चीनको सिमानानजिक पर्ने लामोसाँघुमा ०६६ सालमा  सशस्त्र प्रहरी बलको एकाइ अस्थायी रूपमा स्थापना भएको थियो।

समयक्रममा १६ नं. गणको व्यवस्थित कार्यालय सिन्धुपाल्चोक र काभ्रेको सिमाना बन्देउमा निर्माण गरिएको हो। बाहिनीपति पोखरेलले विभिन्न समयमा देशका लागि बलिदान दिने सशस्त्र प्रहरीका सहिदलाई श्रद्धाञ्जली दिए। आगामी दिनमा पनि मुलुकको शान्तिसुरक्षा र सीमासुरक्षाका लागि विगतझैँ सशस्त्र प्रहरीले आफ्नो भूमिकालाई अझ सशक्त बनाउने उनले बताए। नेपाल–चीन सीमाको रक्षाका लागि सशस्त्र प्रहरीले निभाएको भूमिकाप्रति खुसी व्यक्त गरे। समारोहमा प्रमुख जिल्ला अधिकारीले स्थापना दिवसका लागि शुभकामना दिएका थिए।

स्थापना दिवस वार्षिक समारोहमा  सिन्धुपाल्चोक जिल्ला न्यायाधीश रिताकुमारी बख्रेल, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी काजीकुमार आचार्य, सशस्त्र प्रहरी उपरीक्षकत्रय, अच्युतकुमार मजगैयाँ, माधव रेग्मी र हरिनारायण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख सुभाष कार्कीलगायतको उपस्थिति थियो । विभिन्न विधामा सफल सशस्त्र प्रहरीका  सकल दर्जालाई पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो ।

बन्देउमा रहेको गणमातहत लामोसाँघु चेकप्वाइन्ट र नेपाल–चीन सीमाक्षेत्र भोटेकाेशीमा सीमा सुरक्षाका लागि बिओपीका सशस्त्र प्रहरी तैनाथ छन् । सीमामा हुने अवैध तथा चोरी पैठारी नियन्त्रण, नेपाल–चीन सीमा सुरक्षा र विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी  सक्रिय छ । 

सुझावित समाचार