झापाबाट हेलिकोप्टरमा काठमाडौं फर्कँदै पूर्वराजा, विमानस्थलमा उच्च सुरक्षा सतर्कता

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

झापाबाट काठमाडौं फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा ठुलो संख्यामा राजावादीहरू विमानस्थलमा उपस्थित हुने भएपछि विमानस्थल क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। राप्रपा तथा दुर्गा प्रसाईंको समूहले शाहको स्वागतमा उपस्थित हुन आह्वान गरेका छन्। 

पूर्वराजा शाह करिब एक बजे हेलिकोप्टरबाट काठमाडौं आउने योजना छ । स्वागतको नाममा विमानस्थलमा शक्ति प्रदर्शनको तयारी भएपछि सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ। जिल्ला प्रशासन कार्यालयले विमानस्थललाई एक महिनाका लागि निषेधाज्ञा जारी गरिसकेका छ। 

विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा नारा–जुलुस हुँदा सुरक्षा जोखिम हुने भन्दै निषेधाज्ञा लगाइएको छ। यस्ता कार्यक्रममा घुसपैठ हुन सक्ने भएकाले पनि निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

दुर्गा प्रसाईंको समूह पछिल्लो समय चुनावविरोधी गतिविधिमा संलग्न रहेको सुरक्षा निकायको सूचना छ। उनले योजनाबद्ध रूपमा चुनाव बिथोल्ने गतिविधि गर्न लागेको आशंकामा उनका गतिविधिलाई निगरानीमा राख्न लगाइएको छ। 

काठमाडौं प्रहरीका अनुसार विमानस्थलभित्र कुनै पनि गतिविधि गर्न पूर्ण रोक लगाइने र बाहिर कार्यक्रम गर्न दिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ। 

सुझावित समाचार