आत्मनिर्भर बन्न खाँदबारीका कृषकलाई ९० घार मौरी वितरण

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई ९० घारसहितका मौरी वितरण गरिएको छ। बिहीबार एक कार्यक्रमबिच खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया र उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले मौरीसहितका घार कृषकलाई वितरण गरेका हुन्। खाँदबारी नगरपालिकाभित्रका कृषकको आयआर्जन वृद्धि गरी आत्मनिर्भर बनाउने र व्यावसायिक मौरीपालनमा प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो ।

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले मौरीपालनबाट आत्मनिर्भर बनी व्यावसायिक  मौरीपालनमा लाग्न आग्रह गरे। उनले युवाहरू बिदेसिने क्रम बढ्दो रहेको अवस्थामा गाउँमा नै रोजगार सिर्जना गरी आत्मनिर्भर बन्न लागेकाहरूलाई नगरपालिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।

खाँदबारी नगरपालिकाले सार्वजनिक सूचना जारी गरि व्यक्ति तथा कृषक समूहहरूलाई व्यावसायिक मौरीपालनमा लाग्न अनुरोध गरेको थियो। कृषकहरूको मागबमोजिम नै मौरीसहितको घार वितरण गरिएको खाँदबारी नगरपालिकाकी कृषि शाखा प्रमुख जानुकला राईले जानकारी दिइन्। उनका अनुसार नगरपालिकाले मौरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्रतिघार १० हजार आठ सय रुपैयाँ लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो। कृषकले ५० प्रतिशत अर्थात् पाँच हजार चार सय रुपैयाँ नगद व्यहोरेका छन् । आर्थिक वर्ष ०८२/८३ मा मौरीपालन प्रवर्द्धन कार्यक्रमका लागि नगरसभाबाट ६ लाख रुपैयाँ विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकहरूलाई तालिम र सिप विकास गरिने कृषि शाखाले जानएको छ ।

यो कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन्। खाँदबारी नगरपालिका–४ का कृषक फुरसाँगे शेर्पा र खाँदबारी नगरपालिका– ३ का श्यामसुन्दर बोगटीले मौरीसहितको घार प्राप्त गरेपछि खुसी लागेको बताए। नगरपालिकाले आगामी दिनहरूमा समेत यस्तै कृषकलक्षित कार्यक्रमहरू ल्याउनुपर्ने उनीहरूले बताए । मौरीसहितका घार लिन आएका कृषकहरू कार्यक्रममा उत्साहित देखिएका थिए। 
 

See More On

सुझावित समाचार