प्याराग्लाइडिङ पाइलट्स क्लबकाे अध्यक्षामा थापा

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

प्याराग्लाइडिङ उडान गर्ने पाइलटहरूको संस्था नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको अध्यक्षमा लक्ष्मणबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । क्लबको पोखरामा सम्पन्न पाँचौँ अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि थापाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा मित्रलाल बाँस्तोला, सचिवमा प्रेम तिमिल्सिना र कोषाध्यक्षमा हरिप्रसाद पहारी निर्वाचित हुँदा सदस्यहरूमा इस्का राई, रविन अधिकारी, राजेश गिरी, ओमित गुरुङ र राम तामाङ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो पहिलो काम पाइलटहरूको हकहित र सुरक्षाका लागि आवश्यक काम गर्नु रहेको बताए। पाइलटहरूको बिमा, पारिश्रमिक, सामाजिक सुरक्षालगायतका विषयमा आवश्यक नीति निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने उनले बताए । साथै उडान मापदण्डसँगै सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन, उडान र अवतरणका लागि दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला  स्थानीय निकायसँग सहकार्य र समन्वय गरी आवश्यक पूर्वाधारहरू स्थायी बनाउने काममा आफू लाग्ने थापाको भनाइ छ ।

क्लबका निवर्तमान अध्यक्ष दीपक थापाका अनुसार प्याराग्लाइडिङ पाइलट्सहरूको हकहितसँगै सुरक्षाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ०७३ सालमा क्लब स्थापना भएको हो । हाल ४१२ जना नेपाली पाइलटहरूले टेन्डम उडानका लागि लाइसेन्स प्राप्त गरेका उनले जानकारी दिए ।

सुझावित समाचार