- बंगलादेशका लागि यो चुनाव केवल अर्को राजनीतिक प्रतिस्पर्धा मात्र होइन, सम्पूर्ण आशाको प्रकटीकरण पनि हो
हाम्रो मनमा धेरै अनिश्चितता र गहिरो शंका भए पनि यसपटक मतदान गर्ने उत्साह अपरिहार्य थियो । यो अन्य चुनावभन्दा फरक छ र निश्चित रूपमा २०१४, २०१८ र २०२४ मा हामीले देखेका एकतर्फी, योजनाबद्ध चुनावजस्तो होइन, जहाँ मतपरिणाम पहिल्यै तय गरिएको हुन्थ्यो । यसपटक, वास्तविक प्रतिस्पर्धा छ ।
यस चुनावमा, हामीले जमात–ए–इस्लामीको पुनरागमन देखिरहेका छौँ, जुन पार्टीले १९७१ को कलंकका बाबजुद पछिल्लो समय उल्लेखनीय समर्थन प्राप्त गरेको छ । जुलाईको विद्रोहबाट जन्मिएको र अहिले जमातसँग गठबन्धन भएको नयाँ राजनीतिक दल नेसनल सिटिजन पार्टी (एनसिपी) को उदयले जटिलता थपेको छ । लामो समयदेखि दमनमा परेको बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) पनि दुई प्रिय नेताहरूको विरासत लिएर उदाउँदै छ । १७ वर्ष विदेशमा बस्न बाध्य पारिएपछि फर्किएका तरिक रहमानको नेतृत्वमा बिएनपी भावी सरकारको नेतृत्व गर्ने दाउमा छ । अबामी लिग (एएल) को पूर्ण अनुपस्थितिले पनि बिहीबारको चुनावलाई अन्यभन्दा पृथक् बनाएको छ ।
यस चुनावको नतिजाले जनताको जुलाईको आकांक्षा धार्मिक दक्षिणपन्थी वा व्यावहारिक मध्यममार्गमध्ये कता झुकाव छ भन्ने प्रकट गर्नेछ । महिला, युवा मतदाता र परम्परागत अबामी लिगका मतदाताको ठुलो संख्या स्विङ मतदाता भएकाले नतिजा स्पष्ट रूपमा अनुमान गर्न सकिने अवस्था छैन । जनवरी २०२४ को अवश्य पनि हामीमध्ये धेरैले मतदान गर्ने चिन्ता गरेनौँ । त्यसपछि जुलाई क्रान्ति सुरु भयो र हामीले अविश्वास र विस्मयसाथ हेर्यौँ कि कसरी धेरै दशकअघिका आफ्ना पूर्ववर्तीजस्तै सयौँ निहत्था विद्यार्थीले निर्दयी शासनविरुद्ध अडान लिए ।
आफ्ना जनतासँगको सबै सम्बन्ध गुमाएर र सत्तामा टाँसिन डर, दमन र तिकडम रोजेकी एक तानासाहलाई चुनौती दिन विश्वविद्यालयका आवासीय हलमा रहेका महिलाले पहिलो कदम चालेका थिए । फेरि, छात्र लिगका गुन्डाद्वारा निर्दयी रूपमा कुटपिट गरिएका महिला विद्यार्थी नै थिए, जसले आन्दोलनको पहिलो झिल्को प्रज्ज्वलित गर्यो र साधारण देखिने कोटाविरोधी आन्दोलनलाई धेरै परिणामकारी रूपान्तरण गर्यो । अनि जब अविश्वासले भरिएको अनुहारसहित अबु सइद हात फैलाएर उभिए, छातीमा गोली लागेर उनी भुइँमा ढले । पहिलो सहिद बनेसँगै आन्दोलनले ठुलो गति लियो, जब हजारौँले क्रोध र शोकमा सडकमा मार्च गरे । विद्यार्थीले आन्दोलनको नेतृत्व गरे र मानिसले पछ्याए । जब युवा प्रदर्शनकारी सरकारी कफ्र्युको अवज्ञा गर्दै अगाडि बढे, उनीहरूको साहस अबु सइदको भावनाले उत्प्रेरित भयो । आन्दोलनमा करिब १४ सय जनाले ज्यान गुमाए भने हजारौँको अंगभंग भयो ।
त्यसपछि, अगस्ट ५, २०२४ मा असम्भव कुरा भयो । दमनकारी शासक हसिना भागिन् र देश उनको क्रूर शासनबाट मुक्त भयो । जीवनका सबै क्षेत्रका मानिसको उत्सव स्वस्फूर्त थियो, हामीले फेरि सपना देख्ने साहस गर्यौँ । जब प्रोफेसर मुहम्मद युनुसले विद्यार्थीको आह्वानको जवाफ दिए र नागरिक समाजका सदस्य र विद्यार्थी प्रतिनिधिको अपरम्परागत मन्त्रिपरिषद् गठन भयो, तब वास्तविक परिवर्तन आउँदै छ भन्ने अपेक्षा गरियो । हामीलाई बाँध्ने बन्धनहरू चुँडिएजस्ता देखिए । जबर्जस्ती बेपत्ता पारिएका पीडितलाई मुक्त गरियो र अघिल्लो शासनद्वारा लामो समयदेखि बन्दी बनाइएका राजनीतिक बन्दीलाई रिहा गरियो ।
तर, फेरि अराजकता सुरु भयो किनकि सडकहरू विरोध प्रदर्शनको रणभूमिमा परिणत भए । धेरैजसो अवस्थामा आगो निभाउन संघर्ष गरिरहेको सरकार झुक्न बाध्य भयो । हामी उनीहरूको अवस्था बुझिरहेका थियौँ । हामीले धैर्य गर्ने निर्णय गर्यौँ ।
जुलाईमा भएका सबै हत्या र गोलाबारीमा दोषीलाई सजाय दिनुपर्ने आवाज बढ्यो । यद्यपि, न्याय प्रक्रिया विचलित, छनोटपूर्ण, पक्षपाती र सबैभन्दा ठुलो आवाज भएकाहरू र सबैभन्दा ठुला भिडद्वारा निर्धारित भयो । मोबोक्रेसी अर्थात् केही हदसम्म भिडले शासन गर्यो । विश्वविद्यालय, विद्यालय, मिडिया हाउस र कर्मचारीतन्त्रदेखि विभिन्न नियुक्तिमा भिडको प्रभाव देखियो । धार्मिक भावनामा चोट पुर्याएको वा चोरीको शंका गरिएका आधारमा कसलाई कुटपिट गर्ने वा जलाउन योग्य छ भन्ने निर्णयसम्म भए । राज्य प्राय: मूकदर्शक बन्यो । कम मनोबल भएका कानुन प्रवर्तनकर्ता प्रभावहीन देखिए, जसले गर्दा अराजकता र क्रूर अपराध बढ्दै गए ।
तथाकथित फासीवादी तत्वलाई दण्डित गर्न कानुनी संयन्त्रलाई अन्धाधुन्ध र व्यापक रूपमा प्रयोग गरियो, परिणामस्वरूप विरोधी राजनीतिज्ञ र पत्रकारलाई असंख्य मुद्दा लगाइयो र जेल हालियो, उनीहरूको जमानत अस्वीकार गरियो । तीमध्ये धेरैलाई भ्रष्टाचारको आरोप लगाउन सकिन्थ्यो, तर उनीहरूलाई प्रदर्शनकारीको हत्या गरेको आरोप लगाइयो, जुन आरोप उचित प्रक्रिया सुनिश्चित गरिएको खण्डमा अदालतमा प्रमाणित गर्न धेरै कठिन हुने थियो । सरकारी संयन्त्रको यस्तै कमजोरीका कारण वास्तविक दमनकारी (सेख हसिनाका नजिकका व्यक्तिहरू) महिनौँ लुकेर भागे ।
अन्तरिम सरकार निरन्तरको सडक प्रदर्शन र विद्यार्थी समूहको धक्काबाट प्रभावित भयो । महिला, अल्पसंख्यक र आदिवासी समुदाय, बेरोजगार, गरिबले भने अलपत्र परेको महसुस गरेका छन् । यद्यपि, विगत १८ महिनामा केही उल्लेखनीय उपलब्धि भएका छन्– बैंकिङ अनुशासन, विदेशी मुद्रा भण्डार र स्वतन्त्र न्यायपालिका गठन गर्न अध्यादेश जारी भएका छन् ।
त्यसैले, यो चुनाव केवल अर्को राजनीतिक प्रतिस्पर्धा मात्र होइन । यो हाम्रा सम्पूर्ण आशाको प्रकटीकरण पनि हो । जुलाई विद्रोहको समयमा हामीले यति हतास भएर खोजेका आकांक्षालाई प्रतिबिम्बित गर्दै भविष्य सुरक्षित गर्न सक्ने अन्तिम कार्डको प्रतिनिधित्व गर्नेछ, यो निर्वाचनले ।
(बंगलादेशको डेली स्टारका लागि अमिनको आलेख)