बंगलादेशमा बिहीबार आमनिर्वाचन सम्पन्न भयो । निर्वाचनबाट ३५० सांसद चुनिनेछन् । तीमध्ये ३०० सिट प्रत्यक्ष र ५० जना महिला दलले प्रत्यक्ष मतदानमा पाएको मतका आधारमा चुनिनेछन् । यसपटकको निर्वाचनमा संसद्का साथै संविधान संशोधन गर्ने प्रस्ताव गरिएको एक बडापत्रलाई स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्नमा जनमतसंग्रह पनि गरिएको छ ।
सांसद चयनका लागि सेतो रंगको मतपत्र र जनमतसंग्रहका लागि गुलाबी मतपत्र प्रयोगमा ल्याइएको थियो । मतपत्र प्राय: शान्तिपूर्ण नै रह्यो । बिहान साढे सातबाट सुरु भएको मतदान साझ चार बजेसम्म चलेको थियो । तथापि, चार बजेपछि पनि मतदान केन्द्रमा रहेका मतदातालाई मत हाल्न दिइएको अधिकारीले बताएका छन् । मतदान सकिएको केही घन्टापछि नै मतगणना सुरु भइसकेको छ । यसपटकको चुनावमा बंगलादेश नेसनलिस्ट पार्टी(बिएनपी) र जमात–ए–इस्लामीलाई प्रमुख प्रतिद्वन्द्वी मानिएको छ ।
चुनावी प्रचारदेखि मतदानको दिनसम्म पनि दुई देशका उम्मेद्वारबिच विशेष प्रतिद्वन्दिता देखियो । खुलनाको मतदान केन्द्रमा जमातसँगको झडपमा एक बिएनपी नेता नै मारिएका छन् । धकेलाधकेलका क्रममा जमात पक्षधरले बलपूवर्क धकेल्दा मृतक नेतालाई नजिकको रुखमा ठक्कर लागेर गम्भीर चोट लागेको बिएनपी पक्षधरले दाबी गरेका छन् । मृतक बिएनपीका खुलना सहर एकाइका पूर्वसचिव ५५ वर्षीय मोहिबुज्जमान कोची रहेको अधिकारीले बताए । घटना बिहीबार बिहान ८:१० बजे खुलना सदरको आलिया मदरसा मतदान केन्द्रमा भएको थियो ।