महाशिवरात्रिका दिन आइतबार आठ लाखले पशुपतिनाथको दर्शन गर्ने आकलन गरिएको छ । महाशिवरात्रिको दिनमा साढे चार हजार साधुसन्त र साढे दुई सय नागाबाबा आउने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवास जोशीले बताए । यसपटक अघिल्लो वर्षभन्दा धेरै दर्शनार्थी आउने आकलन रहेको र सोहीअनुसार तयारी थालिएको छ ।
हाल पशुपति क्षेत्रमा रंगरोगन, मर्मतसम्भारका कामहरू भइरहेका छन् । शिवरात्रिका लागि साधुसन्त आउने क्रम सुरु भएको छ । वनकाली क्षेत्रमा साधुसन्त बस्न थालिसकेका छन् । नागाबाबा शुक्रबार र शनिबार आउने कोषले जनाएको छ । महाशिवरात्रिमा भक्तजनको अत्यधिक चाप हुने भएकाले चारवटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ । शिवरात्रिको दिन ३ फागुनमा बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका ढोका दर्शनका लागि खुला गरिनेछ ।
जोशीका अनुसार भक्तजन एवं तीर्थयात्री तथा पर्यटकका लागि सुरक्षा, स्वयंसेवक, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, मनोरञ्जनात्मक धार्मिक भजनकीर्तन, नागाबाबाहरूका लागि धुनीको व्यवस्था, शिवरात्रि पर्व सम्पन्न भएपछि बाबाजीहरूको बिदाइ कार्यक्रम तयारी भएको बताए । कोषले मन्दिर दर्शनमा पुग्ने भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नजान अनुरोध गरेको छ । कोषले यसपटक पनि मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको जनाएको छ । त्यस्तै, भक्तजनको सहजताका लागि नेपाल प्रहरीको सहायतामा खोजखबर कक्ष राखिनेछ । नेपाल प्रहरीले तीन सयभन्दा बढी सुरक्षाकर्मी सादा पोसाकमा समेत खटाउनेछ ।
‘पशुपति क्षेत्रभित्र गाँजा, मदिरा निषेध छ, गाँजा, भाङजस्ता लागुपदार्थ नियन्त्रणका लागि स्थलगत रूपमै नियन्त्रणको कार्यलाई नियमित गरी प्रभावकारी रूपमा नियन्त्रण गर्ने व्यवस्था मिलाइन्छ,’ जोशीले भने, ‘तिलगंगा क्षेत्रमा तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी)हरूका सवारीसाधनहरू पार्किङ गर्न सकिनेछ ।’ कोषका अनुसार १० वटा उपसमितिसमेत गठन गरेर शिवरात्रिलाई व्यवस्थित पारिँदै छ ।
सजावटमा ३० लाखभन्दा बढी खर्च
महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर क्षेत्र सौन्दर्यीकरणमा तीव्रता दिइएको छ । शिवरात्रि (३ फागुन) लाई लक्षित गरी मन्दिर क्षेत्र सजावट, प्रवेशद्वार र अस्थायी अकासेपुल निर्माण, रंगरोगन, सडक व्यवस्थापन, लाइन व्यवस्थापनका लागि डोरी टाँग्ने, शिवपार्वतीको प्रतिमूर्ति निर्माण, भित्तामा पेन्टिङ, साधुसन्तका लागि बसोबासस्थल निर्माणलगायतका काम धमाधम भइरहेको कोषले जनाएको छ । सजावटका लागि केही संस्थाहरूले सहयोग गरेका छन् भने कोषले ३० लाखभन्दा बढी रकम सजावटमा खर्च गर्नेछ ।
सुरक्षा अवस्था कडा, सिसिटिभी क्यामेरा जडान हुुँदै
महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । कोषले नेपाल प्रहरीसँग मिलेर सयभन्दा बढी स्थानमा सिसिक्यामेरा जडान गर्दै छ । पाँच हजारभन्दा बढी सुरक्षाकर्मी खटिँदै छन् । सिसिक्यामेरा काडमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (मेट्रो)ले कन्ट्रोल र निगरानी राख्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी र नेपाली सेनालाई शान्तिसुरक्षाको जिम्मेवारी दिइएको छ । शिवरात्रिभर मारवाडी सेवा समिति, नेपाल स्काउट, नेपाल स्वयंसेवक संघले लाइन व्यवस्थापन र भक्तजनको सहजताका लागि काम गर्नेछन् ।
यी लाइनबाट भक्तजनले गर्न सक्नेछन् दर्शन
बत्तीसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीहरू दक्षिण ढोकाबाट प्रवेश गरी ६४ शिवलिंगमार्ग हुँदै मन्दिर प्रांगण प्रवेश गर्न सक्नेछन् । विमानस्थल, तिलगंगा क्षेत्रबाट आउने दर्शनार्थी मन्दिरको पूर्वी ढोकाबाट प्रवेश गर्न सक्नेछन् । चाबहिलतर्फबाट आउने भक्तजनले उत्तर ढोकाबाट दर्शन गर्न सक्नेछन् भने चाबहिल, सिफलबाट आउने दर्शनार्थीले भुवनेश्वरीको सानो ढोकाबाट दर्शन गर्न सक्ने कोषले जनाएको छ ।
पशुपतिनाथको दर्शन गरी फर्कँदा पशुपतिनाथ मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनहरूको सुविधाका लागि भगवान् पशुपतिनाथको चन्दन पश्चिम ढोकाबाहिर सानो सदावर्त सत्तलअगाडि साथै पञ्चदेवल पूर्व–दक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा, वनकाली, गौशाला, जयवागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइने जनाइएको छ ।