नेपाललाई हराउँदै इटालीले निकाल्यो ऐतिहासिक जित

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण
नेपाललाई हराउँदै इटालीले निकाल्यो ऐतिहासिक जित

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाललाई १० विकेटले हराउँदै इटालीले आइसिसी टी–२० विश्वकपमा ऐतिहासिक जित निकालेको छ। पहिलोपटक युरोपेली छनोट खेलेर विश्वकपमा स्थान बनाएको इटालीले पहिलो सहभागितामै जित निकाल्यो। यसअघि समूह ‘सी’को पहिलो खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो। 

नेपाल र इटाली पहिलोपटक टी २० मा प्रतिस्पर्धा गरेका हुन्। इटाली पहिलो भेटमै नेपालविरुद्ध जित निकाल्न सफल भयो। यसअघि तीन एकदिवसीयमा बेहोरेको हारको बदलासमेत इटालीले लिएको छ। 

लगातार दोस्रो हारपछि नेपालको भने समूह ‘सी’ बाट सुपर ८ मा पुग्ने सम्भावना निकै कमजोर बनेको छ। नेपाल तेस्रोपटक विश्वकप खेल्दा तेस्रो जितको खोजीमा थियो। समूहकै कमजोर इटालीविरुद्ध कमजोर प्रदर्शन गरेको नेपालले अब आइतबार दुईपटकको च्याम्पियन वेस्ट इन्डिजसँग खेल्नेछ। अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्ने तालिका छ। नेपाल पहिलो खेलमा दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग मात्र ४ रनले हार बेहोर्न पुगेको थियो। 

बिहीबार मुम्बईस्थित बानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदा मात्र १२४ रनको लक्ष्य दियो। प्रत्युत्तरमा इटालीले १२.४ ओभरमै विनाविकेटको क्षतिमा जित निकालेको हो। इटालीविरुद्ध नेपालका बलरहरूको समेत जादु चल्न सकेन।

इटालीको जितमा मोस्का दाजुभाइ जस्टिन र एन्थोनीले १२४ रनको साझेदारी गरे। ३१ वर्षीय जस्टिनले ४४ बलमा ६० रन बनाए। उनले पाँच चौका र तीन छक्का हिर्काए। ३४ वर्षीय एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्कासहित ६२ रन बनाए। कप्तान रोहितकुमार पौडेलले ६ खेलाडीलाई बलिङ गराए पनि विकेट लिन सकेनन्।

इटालीका कप्तान ह्यारी मानेन्टीले टस जितेर बलिङ गर्ने निर्णय सही रह्यो। इटालीका बलरसामु नेपाली खेलाडीले ठुलो स्कोर र साझेदारी बनाउनै सकेनन्। नेपालले एक समय १० रन जोड्दा पाँच विकेट गुमाएको थियो। इंग्ल्यान्डविरुद्ध अन्तिम बलमा ४ रनले चुकेपछि विश्वभर चर्चा बटुलेको नेपाली टिमले विश्वकपको दोस्रो खेलमै इटालीविरुद्ध विर्सनलायक प्रदर्शन गर्यो। 

नेपालको इनिङ्समा मध्यक्रमका ब्याटर आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा तीन चौका हिर्काएका थिए। कप्तान रोहितकुमार पौडेलले १४ बलमा दुई छक्कासहित २३ रन बनाए। आशिफ शेखले पनि २० बलमा २ चौकासहित २० रन मात्रै बनाए। तल्लोक्रममा आएर करण केसीले अविजित ११ बलमा १८ रन जोडे। 

उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पनि १८ बलमा १७ रन बनाउँदा क्रिसन कालुगामागेले १३.४ ओभरमा बोल्ड गरे। उनी आउट हुँदा नेपालले चार विकेट गुमाउँदा मात्र ९३ रन जोडेको थियो। दीपेन्द्र र आरिफबीच ३९ बलमा सर्वाधिक ४४ रनको साझेदारी भएको थियो। यसपछि नेपालले १६.५ सम्म १० रन जोड्दा पाँच विकेट गुमाएको थियो। लोकेश बम, गुल्सन झा र नन्दन यादवले  मध्यक्रममा टिमलाई अगाडि बढाउन सकेनन्। तालमेल नमिल्दा नन्दन रन आउट भए।

यसअघि ओपनर कुशल भुर्तेललाई पाँच रन बनाउँदा अली हसनले जस्टिन मोस्काबाट कभर प्वाइन्टमा क्याच गराएका थिए। इंग्ल्यान्डविरुद्ध सानदार प्रदर्शन गरेका लोकेश बम पनि तीन रन बनाएर बाउन्ड्री लाइनबाट क्याच भए। यसपछि नेपाल दबाबमा आएको थियो। आशा गरिएका गुल्सन झा दोस्रो खेलमा पनि चल्न सकेनन्। मात्र ४ बलमा तीन रन बनाएका उनी पनि लामो सट खेल्ने क्रममा क्याच आउट भए। सन्दीप लामिछाने पनि ५ रन बनाएर आउट भएका थिए। ललित राजवंशी डक आउट भए।

इटालीको लागि क्रिशान कालुगामागेले सर्वाधिक तीन विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। बेन मानेन्टीले २ तथा अली हासन तथा जेजे स्मुट्सले एक विकेट लिए।

प्रशिक्षक स्टुआर्ट लले पहिलो खेल खेलेको टिमबाट शेर मल्ललाई बाहिर राख्दै स्पिनर ललित राजवंशीले अवसर दिएका थिए। तर, ललितले बिर्सनलायक प्रदर्शन गरे।

सुझावित समाचार