रामेछाप बस दुर्घटना : सहमतिपछि आफन्तले शव बुुझेर दाहसंस्कार गर्न थाले

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

रामेछाप बस दुर्घटनाका पीडित परिवार, व्यवसायी र जिल्ला प्रशासनबिच भएको सहमतिअनुसार मृतकका आफन्तहरूले शव बुुझेर दाहसंस्कार गर्न थालेका छन्।

अहिले मन्थली अस्पतालमा शव पोस्टमार्टमको काम भइरहेको छ। पोस्टमार्टम सकिएको शव आफन्तले बुुझेर मन्थली नगरपालिका– १ को आकाशेस्थित तामाकोशी नदीकिनारमा दाहसंस्कार गरेका छन्।

काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगातर्फ आउँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान मन्थली नगरपालिका–६ स्थित लिलौतीमा दुर्घटना भएको थियो। बस सडकको सुरक्षाका लागि राखिएको डिभाइडरमा ठोकिँदै तामाकोशी नदीमा खसेको थियो। उक्त दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका छन्।

मृतकका आफन्तले उचित क्षतिपूति पाउनुपर्ने माग राखेर बुधबार दिउँसोदेखि सडक अवरुद्ध पारेका थिए। हिजो साँझ जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रहरीमाथि कुटपिटमा उत्रिएपछि प्रहरीले चार राउन्ड हवाई फाएर गरी केही राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो।

मृतकका परिवारले प्रतिमृतक ५ लाख रुपैयाँ पाउने, घाइतेको निःशुल्क उपचार गर्ने, हराएका व्यक्तिको खोजी गर्ने र अन्य विषयमा अरनिको यातायात सेवा समितिको कार्यालय भक्तपुरमा जाने सहमति भएपछि पीडित पक्षले बुुधबार गर्ने भनेका आन्दोलनका कार्यक्रमसमेत फिर्ता लिएका छन्।

दुर्घटनामा अन्य ३ जना अझै बेपत्ता छन्। बस नदीमा खसेकाले उनीहरूलाई नदीले बगाएको हुन सक्ने आशंका गरिएको छ। परिवारजनले उनीहरूको खोजीका लागि प्रहरीमा जाहेरी दिएका छन्।

सुझावित समाचार