एक साता लामो डढेलोपछि खासा बजारको चहलपहल लयमा आएकाे छ । लगत्तै तातोपानी नाकामा व्यापार पनि सुरु भयो । गत महिनाभन्दा मानिसको आवतजावत र व्यापार–व्यवसायमा चाप बढेको छ । लिपिङ र तातोपानी बजारमा मानिस र सवारीसाधनको ताँती लागेकोले स्थानीय खुसी देखिएका छन् । भौगोलिक विकटता रहेको भोटेकोशी र बाह्रबिसेको माथिल्लो भागमा कृषि उब्जनी छैन । हातमुख जोड्न कि त विदेश जानुपर्यो कि त नाकामा स–साना व्यापार–व्यवसाय गर्नुपर्यो । जुरे पहिरो, भूकम्प, पटकपटकको बाढीपहिरो र कोभिड महामारीले लामो समय बन्द नाका अझै पूर्ण रूपले सञ्चालनमा आएको छैन ।
लिपिङपारि चिनियाँ बजारमा दैनिक जाने सीमावासी झन्डै एक हजारजति छन् । त्यहाँ पुगेर खुद्रा सामान खरिद गरेर ल्याउँछन् । लार्चा सुक्खा बन्दरगाहमा लोडअनलोड गर्ने मजदुर झन्डै सात सय छन् । तातोपानी नाका असहज हुँदा सीमावासीको दिनचर्या बिग्रन्छ र हातमुख जोड्ने बाटै टुट्छ । बाह्रबिसे र भोटेकोशीका ३५ हजारभन्दा बढी जनसंख्या नाकामा आश्रित छन् ।
२१ फागुनको चुनाव नजिकिँदै जाँदा सीमावासी सतर्क भएका छन् । उनीहरू नाकामा व्यापार व्यवसाय सहज बनाउन साथ दिने उम्मेदवारलाई मत जाहेर गर्न चाहन्छन् । आजभोलि दिनहुँ उनीहरूको मिटिङ र छलफल चलिरहेको छ । भोट माग्न आउने उम्मेदवारलाई तातोपानी नाकाको आयात–निर्यात सहज बनाउन र झोलेपोके व्यापारीको पक्षमा काम गर्न अनुरोध गर्ने तयारी गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्धमा चीनबाट पिएचडी गरेका डा. रूपक सापकोटा बुधबार नाकाको स्थलगत भ्रमणमा जाँदा स्थानीयले यही कुरालाई जोडदारसँग राखेका छन् । खासामा लागेको डढेलोपछि झोलेपोके व्यापार बन्द थियो । चिनियाँ पक्ष २५ फेब्रुअरीपछि मात्रै खोल्न चाहन्थे । किनकि, चिनियाँहरू स्प्रिङ फेस्टिभलको सँघारमा छन् । सीमावासीको रोजीरोटीको विषय भएकाले सापकोटाले चिनियाँ पक्षसँग सहजीकरण गरेर व्यापार सञ्चालनमा ल्याउन सहयोग गरे ।
सीमावासी यो कुरालाई सम्झिरहन्छन् । ‘केही हप्ता व्यापार बन्द हुँदा हामी आत्तिएका थियौँ,’ स्थानीय साना व्यापारी मिश्री श्रेष्ठले भनिन् । भूकम्पपछि सात वर्ष नाका बन्द हुँदा सीमावासी भोकै रहनुपरेको पीडा सम्झँदै उनले भनिन्, ‘हामीलाई राजनीतिक पार्टीभन्दा पनि व्यापार सहज बनाउन साथ दिने र सदनमा पुगेर तातोपानी नाकाबारे आवाज बुलन्द गर्ने उम्मेदवार चाहिन्छ । भोट उसैले पाउँछ ।’ श्रेष्ठजस्तै निमा शेर्पा, साहिली शेर्पा, सानु लामालगायत सीमावासी यसपटक उम्मेदवार छनोट गर्दा नाकालाई ध्यानमा राख्न चाहन्छन् ।
भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले चिनियाँ शीर्ष तहसम्म वार्ता गरेका थिए । नाका खुलाउन प्रचण्डलाई पूर्वसभामुख अग्निप्रसाद सापकोटाले घचघच्याएका थिए । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारसमेत रहिसकेका डा. सापकोटाले भने, ‘चीनको सिजाङ (तिब्बत) तिरको भौगोलिक प्लेट कमजोर छ । त्यही कारण भूकम्पपछि चिनियाँहरू तातोपानी नाका बन्द गर्न चाहन्थे । तर, हामीले निरन्तर संवाद र प्रयत्न गरेपछि सञ्चालनमा आयो ।’
नाकामा आयात–निर्यात सहज बनाउने, साना व्यापार–व्यवसाय सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा चिनियाँ पक्षसँग सहजीकरण गरिरहेको उनले सुनाए। खासा बजारमा बसेका आफ्नो नागरिकलाई झन् बढी सुविधासहित स्थानान्तरण गरेर चीन सरकारले सो भूमिलाई राष्ट्रियकरण गरेको छ । अहिले खासामा ठुलाठुला भवन, चौडा सडक, लामो पुल र व्यवस्थित पार्किङसहित स्मार्टसिटी निर्माण भइरहेको छ । चीनपट्टि व्यवस्थित सहर बन्दै गएकोले नेपालपट्टि हामीले पनि नाकामा पूर्वाधार तयार पार्नुपर्ने आवश्यकता रहेको सापकोटाले औँल्याए ।
लिपिङदेखि बन्देउसम्म अरनिको आर्थिक करिडोर र भैरवकुण्ड, देउढुंगा, जुगल हिमाल र पाँचपोखरीलाई समेटेर अर्को आर्थिक पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने उनले सुनाए । यी सबै विषयलाई पनि केन्द्रमा राखेर सापकोटाले चिनियाँ पक्षसँग संवाद गरिरहेका छन् । त्यसैगरी तातोपानी नाकालाई व्यवस्थित बनाएर बाह्रबिसे नगरपालिकालाई ट्रान्जिट सिटीको रूपमा विकास गर्ने योजना रहेको स्थानीय नेता भीमप्रसाद पराजुलीले बताए ।
ट्रान्जिट सिटीको डिपिआर तयार भएको र चिनियाँ पक्षसँग छलफल भएको उनले सुनाए । तातोपानी नाका सहज बनाउन र अरनिको राजमार्गको पुनर्निर्माण गर्न निवर्तमान सांसद माधव सापकोटा सुबाेधले पटकपटक सदनबाट सरकारको ध्यानाकर्षण गराएका थिए । झन्डै तीन अर्ब बजेटसहित सडक डिभिजन कार्यालय चरिकोटले बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडक निर्माण सुरु गरिसकेको छ ।