इतिहासमा आज

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

सन् २००१ : ‘निअर सुमेकर’ नामक अन्तरिक्षयान ‘४३३ युरोस’ नामक क्षुद्रग्रहमा अवतरण गर्यो, जुन कुनै क्षुद्रग्रहमा अवतरण गरेको पहिलो मानवनिर्मित यान हो ।

सन् १५०२ : स्पेनमा मुस्लिम शासन अन्त्य भएको १०औँ वर्षगाँठमा ग्रेनाडामा रहेका सबै मुस्लिमद्वारा क्याथोलिक (इसाई) धर्म अपनाउनुपर्ने फर्मान जारी ।

सन् १५५४ : इंग्ल्यान्डमा नौ दिन रानी बनेकी लेडी जेन ग्रेलाई नाताले दिदी पर्ने मेरी प्रथमको आदेशमा १७ वर्षको उमेरमा मृत्युदण्ड दिइयो ।

सन् १८१८ : चिल्लीका विद्रोहीले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरे । घोषणका बाबजुद अप्रिल ५ मा माइपू युद्धपछि मात्र सो देश वास्तविक रूपमा स्वतन्त्रता भयो ।

सन् १८२५ : दबाबका कारण अमेरिकाको क्रिक आदिवासीले जर्जिया राज्यको च्याताहुची नदीको पूर्वका तिनका सबै जमिन सरकारलाई हस्तान्तरण गरेर पश्चिमतर्फ बसाइँ सर्ने सहमतिमा हस्ताक्षर गरे ।

सन् १९१२ : चीनमा गणतन्त्र स्थापना भएसँगै अन्तिम चिनियाँ (छिङ वंशका) ६ वर्षीय सम्राट् पुयी अपदस्थ गरिए ।

सन् १९९८ : अमेरिकी कम्पनी प्रविधि ‘इन्टेल’ले उसको पहिलो ग्राफिक्स चिप्स ‘आई ७४०’ सार्वजनिक गर्यो ।

सन् १९९९ : विल क्लिन्टनलाई अमेरिकी राष्ट्रपति पदबाट हटाउन सिनेटमा भएको महाभियोग मतदानमा ४५ जना हटाउने पक्ष र ५५ विपक्षमा उभिए । आवश्यक ६७ मत नपाएपछि महाभियोग मुद्दा खारेज भयो ।

सन् २००२ : युगोस्लाभियाका पूर्वराष्ट्रपति स्लोवोदान मिलोसेभिचविरुद्ध हेगमा गठन गरेको ‘इन्टरनेसनल क्रिमिनल ट्राइबुनल फर द फर्मर युगोस्लाभिया’मा युद्ध अवराधसम्बन्धी मुद्दा सुरु भयो । मुद्दाको टुंगो नलाग्दै चार वर्षपछि बितेर गए ।

सन् २०१६ : पेरिसमा १९५ देशले सहमति जनाएको ‘संयुक्त राष्ट्रसंघीय जलवायु सम्झौता’ संसद्बाट अनुमोदन गर्ने फिजी पहिलो मुलुक बन्यो ।

सन् २०१६ : इसाई धर्मभित्रको क्याथोलिक सम्प्रदायका सर्वोच्च गुरु पोप फ्रान्सिस र इस्टर्न अर्थोडक्सका सर्वोच्च गुरु प्याट्रिच किरिलबिच हवानामा भेटवार्ता भयो । यो क्याथोलिक चर्च र रुसी अर्थोडक्स चर्चका प्रमुखबिच झन्डै हजार वर्षपछि भएको भेट थियो ।

सन् २०१९ : ग्रिसको लामो विवादपछि अन्तत: म्यासेडोनियाले आफ्नो नाम औपचारिक रूपमा बदलेर नर्दन म्यासेडोनिया बनायो ।

सुझावित समाचार