राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ‘सुरक्षित किल्ला’ मानिँदै आएको चितवन निर्वाचन क्षेत्र नम्बर–२ यसपटक फेरि पनि चुनावी चर्चामा छ । लगातार दुई निर्वाचनमा फराकिलो मतान्तरले जितेका लामिछानेलाई यसपटक नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेल, एमालेका अस्मिन घिमिरे, नेकपाका प्रताप गुरुङ, राप्रपाका जगदीश्वर अधिकारीलगायतले चुनौती दिँदै छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पाँच जिल्लाका अदालतमा कानुनी प्रक्रियामा छन्। उम्मेदवारी दर्ताका क्रममा समेत अदालत धाइरहनुपरेका उनले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थिए। यही सन्दर्भले पनि चितवन २ को चुनावमा कानुनी र नैतिक प्रश्नलाई मुख्य बहसको विषय बनाएको छ ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत ल्याउँदै कांग्रेस र एमालेका उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेका थिए । नागरिकता विवादका कारण सांसद पद गुमेपछि ०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले ५४ हजार २७६ मतसहित पुनः जित हासिल गरे । यहाँ दोस्रो हुँदै आएको कांग्रेस ०७९ मा कांग्रेसले १४ हजार ९८८ मत र उपनिर्वाचनमा ११ हजार २५१ मतमै सीमित भएको थियो ।
यसपटक भने कांग्रेसले सामाजिक स्वीकृति भएको उम्मेदवारमार्फत समीकरण बदल्ने प्रयास गरेको देखिन्छ । चितवन २ अझै पनि रवि लामिछानेका लागि अनुकूल क्षेत्र मानिए पनि यसपटकको प्रतिस्पर्धा अघिल्लाजस्तो एकतर्फी नहुन सक्ने संकेतहरू देखिएका छन् । सहकारी प्रकरण, अदालत धाइरहनुपर्ने अवस्था र पुनः उपनिर्वाचनको सम्भावनाबारे उठिरहेका प्रश्नले चुनावी वातावरणमा फरक आयाम थपेको छ । कांग्रेसले उठाएको उम्मेदवारको सामाजिक अभियन्ताको छवि, महिलाको प्रतिनिधित्व र सहकारी प्रकरणले उठाएका प्रश्नले मतदातालाई पुनर्विचारतर्फ धकेल्न सक्छ । यद्यपि, एमालेको परम्परागत मत आधार, कांग्रेसको विगतको कमजोर प्रदर्शन र रास्वपाप्रतिको आकर्षणले लामिछानेलाई अझै बलियो बनाइरहेको विश्लेषण गरिन्छ ।
यसपटकको निर्वाचनमा रविलाई सबैभन्दा कडा टक्कर कांग्रेसकी मीनाकुमारी खरेलले दिने अनुमान गरिएको छ । कांग्रेसले यसपटक परम्परागत राजनीतिक अनुहारभन्दा फरक छवि खोज्दै सामाजिक अभियन्ता मीना खरेललाई उम्मेदवार बनाएको छ । भरतपुर–४ की स्थायी बासिन्दा खरेल तीन दशकभन्दा बढी समयदेखि महिला, बालबालिका र हिंसा प्रभावित समुदायको पक्षमा सक्रिय छिन् ।
चितवनमा हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि अल्पकालीन पुनर्स्थापना गृह सञ्चालन गर्ने पहिलो पहलकर्तामध्ये एक खरेलको नेतृत्वमा हजारौँ महिलाले कानुनी सहयोग, सिपमूलक तालिम र आर्थिक आत्मनिर्भरता हासिल गरेको कांग्रेसको दाबी छ । समाजशास्त्रमा स्नातकोत्तर खरेल ०५४ सालको स्थानीय निर्वाचनमा वडासदस्य निर्वाचित भएकी थिइन् । हाल उनी कांग्रेस जिल्ला महासमिति सदस्य हुन् । खरेल मानव बेचबिखन नियन्त्रण, हिंसा प्रभावितको पुनर्स्थापना र महिला सशक्तीकरणका क्षेत्रमा योगदान पुर्याएबापत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत भएकी छिन् ।
कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसको जित निश्चित भएको दाबी गरे । उनले चुनाव जितेर पनि खासै केही नगरेका रविलाई निरन्तर यहाँ सामाजिक काम गरेर बसेकी मीनाको कारण कांग्रेसको जित सुनिश्चितजस्तै भएको बताए । उनले भने, ‘यहाँ अरूले पटक–पटक जितेर पनि जनताको अपेक्षाअनुसार काम हुन सकेन । हामीले सामाजिक काममा निरन्तर सक्रिय उम्मेदवार उठाएका छौँ, यसपटक परिणाम फरक आउँछ ।’
यता रास्वपाका सभापति रविले चितवन क्षेत्र नम्बर २ लाई निलो क्रान्तिको उदगमस्थल बताउँदै आएका छन् । अहिले देशैभरि फैलिएको निलो क्रान्ति चितवनमा विगतभन्दा अझ दरिलो भएर स्थापित हुने उनको दाबी छ । ‘चितवन २ का मतदाता निलो क्रान्तिका संवाहक हुन् । यहाँबाट सुरु भएको अभियान देशभर फैलिएको छ,’ उनले भनेका छन्, ‘यसपटक हामी विगतभन्दा झनै ठुलो मतान्तरले विजयी हुन्छौँ ।’
एमालेले चितवन २ मा युवा नेता अस्मिन घिमिरेलाई उम्मेदवार बनाएको छ। विद्यार्थी राजनीतिबाट उदाएका घिमिरे बागमती प्रदेश कमिटी सदस्य तथा जनवादी गायकका रूपमा परिचित छन् । एमालेको परम्परागत मत आधारका कारण उनलाई हल्का रूपमा लिन नसकिने आकलन छ । यहाँ नेकपाबाट प्रताप गुरुङ र राप्रपाबाट जगदीश्वर अधिकारी उम्मेदवार छन्। यद्यपि, मुख्य प्रतिस्पर्धा लामिछाने र खरेलबिच केन्द्रित देखिन्छ । चितवन २ को चुनाव यसपटक केवल विकासका नारामा सीमित नरहने संकेत देखिएको छ। सहकारी ठगी प्रकरण, कानुनको समान कार्यान्वयन, राजनीतिक नैतिकता र सामाजिक न्यायजस्ता विषय बहसको केन्द्रमा छन् ।
चितवनमा यसपटक २० हजार ६९० मतदाता थपिँदा कुल चार लाख ४२ हजार ८२ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर दुईमा मात्रै यसपटक एक लाख ३७ हजार १५२ जना मतदाताले मतदान गर्नेछन् । यहाँ पुरुष मतदाताभन्दा महिलाको संख्या बढी छ । जसमा महिलाको संख्या ६९ हजार २९४ र पुरुषको संख्या ६७ हजार ८५७ छ । यस्तै, चितवन क्षेत्र नम्बर २ मा अन्य मतदाताको संख्या एक रहेको छ । निर्वाचन कार्यालयका अनुसार चितवनमा कुल मतदान १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र रहेका छन् ।
२१ फागुनमा हुने निर्वाचनले चितवन २ मा केवल सांसद चयन मात्र होइन, राजनीति शक्ति हो कि सेवा भन्ने बहसको पनि परीक्षण गर्नेछ । रविको लोकप्रियता अझै भारी छ, तर मीना खरेलको सामाजिक पुँजीले त्यो लोकप्रियतालाई कति चुनौती दिन सक्छ भन्ने प्रश्न अहिले चितवनको राजनीतिक केन्द्रविन्दु बनेको छ ।